|

काठमाडौं : सरकारले लोक सेवा आयोगको परीक्षामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी गरेपछि चौतर्फी विरोध हुन थालेको छ। यो विषयमा संसदमै प्रवेश भइ सांसदहरूले विरोध जनाएका छन्।

आज(सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रकाश ज्वालाले लोक सेवामा फेल हुने विद्यार्थीहरूलाई परीक्षामा बन्चित गर्ने नभई बरू सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गर्न माग गरेका छन्। उनले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरि सिन्डिकेट गर्नु संविधानको भावना विपरीत रहेको बताए।

‘लोक सेवामा ६ पटक भन्दा बढी परीक्षा दिन निषेध गर्ने गरि कानुनी व्यवस्था गरिदैं छ भने त्यो गलत छ,’उनले भने,‘कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउनेगरि सिन्डिकेट गर्नु संविधानको भावना विपरीत छ,यसरी परीक्षाबाट नै बञ्चित गर्नु नेपाली युवाहरूलाई अझ खाडी र मलेसियामा पठाउनु हो।’

उनले उमेर रहुञ्जेल परीक्षामा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरे। उनले भने,‘सरकारले रोजगारको विकल्प नदिने अनि परीक्षा रोक्ने, उमेर हुञ्जेल लोकसेवा लड्न पाउनुपर्छ, बरू अब राजनीतिक नियुक्ति कति पटक खान पाउने?,चुनाव कतिपटक लड्न पाउने?,सांसद,मन्त्री प्रधानमन्त्री राष्ट्रपति कतिपटक हुन पाउने भन्नेमा बहस गरौँ,सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गरौँ,तर नेपाली भाइबहिनीहरूलाई लोकसेवा लड्ने र राष्ट्रसेवक बन्नेमा बञ्चित नगरौँ।’

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले ६ पटकसम्म परीक्षा दिएर पनि फेल भए उक्त व्यक्तिले निजामति सेवामा योगदान दिन नसक्ने भन्दै बरु ती विद्यार्थी घर गएर खेतिपाती गर्न सुझाएका छन्। उक्त कुराको यतिखेर सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.