|

विराटनगर : विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिको पेटी विराटनगर महानगरपालिका—१२ की ५६ वर्षीया सीता मण्डलका लागि  जीविकोपार्जन गर्ने थलो हो।

उनले त्यो पेटीमा बाल्यकाल, किशोरावस्थामात्र बिताइनन्‚ अहिले बुढ्यौली पनि त्यही ठाउँमा मकै पोलेरै बितिरहेको छ। विराटनगरको प्रचण्ड गर्मीमात्र नभएर थेगिनसक्नु वर्षामा रुझ्दै भिज्दै र अलिअलि ओत लाग्दै भए पनि उनी मकै पोलेर ग्राहकलाई खुवाउनमै रमाइरहेकी हुन्छिन्।

हजुरआमा र आमाले मकै पोलेर बेच्दा मकैको मोल ४ आना भएको उनी धमिलिँदै गएका पुराना सम्झनाहरुलाई ताजा पार्ने प्रयास गर्दै सुनाउँछिन्।

यो चोकमा भएका सबैजसो घरहरूले रुपरंगमात्र नभएर स्वरुपैसमेत फेरे। बाटो बन्यो। उनी ओत लागेर बस्ने पेटी र भित्ता रङ्गिए तर उनको पृष्ठभूमिमा सतिसाल झैँ उभिएको ट्राफिक कार्यालयको जीर्ण भवन र उनको ढल्कँदो उमेर उस्तै उस्तै भएको भन्दै हाँस्दै सुनाउँछिन्।

‘मेरो हजुरआमा, आमाले यसरी नै मकै पोल्दै बेच्नुहुन्थ्यो। अनि मैले पनि सिकेँ,’ उनले भनिन्, ‘यो बाटो यस्तो थिएन। बाटो बन्यो। घरहरू पातला थिए‚ बाक्लिँदै गए तर भत्किन लागेको ट्राफिक अफिस र मेरो उमेर उस्तै भयो.. थोत्रे ..!‚’ उनले लामो हाँसोसँग भनिन्।

पढ्न सकिनन् तर आत्मनिर्भर बन्नुपर्छ भन्ने ज्ञान आमाबाट पाएको उनी बताउँछिन्। आमाले मकै पोल्दै ४ आना घोगा बेचेको मकै अहिले आफ्नो पालोमा ४० रूपैयाँमा बेच्दा आश्चर्य लाग्ने गरेको उनी सुनाउँछिन्।

उनले विगत सम्झिएर हामीसँग भलाकुसारी गर्दै गर्दा मकै खान आउने ग्राहकहरु उनको भनाइसँगै मकैको स्वाद लिँदै चकित परेर मुखामुख गरेको देख्न सकिन्थ्यो। किनकि ‘४ आना’ अहिलेको पुस्ताका लागि नौलो लाग्नु अस्वाभाविक होइन।

उनी ग्राहकलाई मकै दिँदै भन्छिन्, ‘यो त सबै समय–समयको बात रहेछ।’

विहान ४ बजे मकै खरिद गर्न उनी मोरङको कानेपोखरी पुग्दी रहिछन्। ल्याएजति मकै कहिले बिक्ने रहेछ‚ कहिले भने यत्तिकै फर्काएर घर लग्ने गरेको उनले बताइन्।

परिवारको भरथेग बनेको उनको मकै व्यापारले छोराछोरी हुर्काउन धेरै सघाएको अनुभव उनको छ।

अब त उनका छोराहरू कमाउने भइसके तर उनी हातखुट्टा लागेसम्म काम गरिरहने बताउँछिन्। उनले दिनमा हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्म मकै बेच्ने गरेकी छन्।

‘हातखुट्टा चलेसम्म काम गर्ने हो। केही नहुँदा परिवारको भरथेग नै यही थियो अब किन छोड्नु?', उनी भन्छिन्, ‘केही भएर नै बालखदेखि बूढी भइसकेँ र पनि अझैसम्म मकै पोल्दै बेचिरहेकी छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.