पर्वत : पोहोर सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन गरिएको हो। मापदण्ड अनुसार दुई सय ५० जना विद्यार्थी भएको अवस्थामा एउटा केन्द्र राखिनुपर्ने भएकाले सबै न्यून विद्यार्थी भएका ठाउँमा केन्द्र समायोजन गर्नुपरेको उनले बताए।
अहिले कायम भएकामध्ये पनि दुई वटा केन्द्रमा विद्यार्थी सङ्ख्या दुई सय ५० छैनन्। तर पनि भौगोलिक समस्याका कारण फलेवास नगरपालिकाको अन्नपूर्ण मा.वि. कार्कीनेटा र महाशिला गाउँपालिकाको महेन्द्रज्योति मा.वि. मा भने केन्द्र राखिएका छ। ती विद्यालयहरूमा क्रमशः एक ७० जना र एक सय ६८ जना परीक्षार्थीहरू छन्।
पोहोर साल केन्द्र रहेका ठूलीपोखारीको जनता सुदर्शन मा.वि, खुर्कोटको हिमालय मा.वि, कुश्माको शिवालय मा.वि.‘ख’, देवीस्थानको जनता मा.वि, बालाकोटको बालारानी मा.वि, सेतीवेणीको शालिग्राम मा.वि, त्रिवेणीको निर्मल जनसेवा मा.वि, लेखफाँटको ग्रामप्रकाश मा.वि. र माझफाँटको विद्यालज्योति मा.वि.लाई समायोजन गरिएको हो।
यस वर्ष कायम गरिएका तिलाहारको नवजागृत मा.वि. बाट तीन सय १७, कुश्माको शिवालय मा.वि.बाट तीन सय १०, नारायण मा.वि.बाट चार सय २५, लुङ्दी आधारभूत विद्यालयबाट दुई सय २०, अन्नपूर्ण मा.वि.बाट एक सय ७०, भवानी विद्यापीठ मा.वि.बाट दुई सय २२, महेन्द्रज्योति मा.वि.बाट एक सय ६८, वाहाकी क्याम्पसबाट दुई सय २४ र जनसेवा संस्कृत क्याम्पसबाट दुई सय ८२ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन्।
ती केन्द्रहरूमा साधारण नियमिततर्फ एक हजार सात सय ४२ जना, प्राविधिक नियमिततर्फ ७२ जना तथा ग्रेडवृद्धि अन्तर्गत साधारणतर्फ पाँच सय १७ र प्राविधिकतर्फ तीन जना गरी पाँच सय २० जना परीक्षामा सहभागी हुँदै छन्।
यसरी जिल्लामा कुल दुई हजार तीन सय ३४ जना एसइई परीक्षामा सहभागी हुँदै छन्।
केन्द्राध्यक्षहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै इकाई प्रमुख चपाइले जिल्लाका नौ वटै केन्द्रहरूमा एउटै शैलीको बसाई व्यवस्थापन गर्न लागिएको बताए। दुई ‘बेन्च’ का चार वटा ‘सिट’ मा चार फरक विद्यालयका परीक्षार्थीहरू राख्न लागिएको उनको भनाइ छ। जिल्लामा यस वर्ष केन्द्र रहेका विद्यालयबाट केन्द्राध्यक्ष र निरीक्षकहरूलाई समावेश नै नगर्ने गरी अर्को पनि नयाँ अभ्यास थालिएको छ।
निर्धारण गरिएका केही केन्द्रहरूमा सम्बन्धित विद्यालयकै विद्यार्थीहरू पनि परीक्षामा सहभागी हुने भएकाले कतिपयले ‘होम सेन्टर’ कायम गरिएको भने पनि त्यहाँका कोही पनि जनशक्ति प्रयोग नै नहुने भएपछि विद्यालयको भवन प्रयोगले परीक्षामा कुनै प्रभाव नपर्ने उनको भनाइ छ।
‘परीक्षा अमर्यादित हुन सक्छ, त्यहाँ केही मिलेमतो हुन सक्छ भनेर होम सेन्टर नराख्ने हो। हामीले यस पटक केन्द्र तोकिएका विद्यालयको कार्यालय सहयोगी एक जना बाहेक अरू कोही जनशक्ति लिँदैनौँ’, चपाइले भने, ‘विद्यालयको भवनले अमर्यादित गराउने त होइन त्यहाँ खटिने जनशक्तिले हो। केन्द्र रहेको स्थानीय तहका अन्य विद्यालयबाट जनशक्ति खटाउँदै छौँ।’
यो वर्षको एसइई चैत सातगतेदेखि सुरु भएर १९ गते सम्पन्न हुँदै छ। परीक्षा बिहान आठबजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। पोहोर सालको एसइईमा पर्वतबाट दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। उनीहरू साधारणतर्फ एक हजार नौ सय ४०, आंशिकतर्फका ४८ र प्राविधिकतर्फका ४० जना रहेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।