|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तरराष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको आरोप लगाएका छन्। 

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले विगतका राजा/महाराजाले विदेशीको चाकडी कसरी गरेका थिए? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो भन्ने कुरा युवालाई बुझाउन जरुरी रहेको बताए। 

‘हामीले आफ्ना छोराछोरी र पुस्तालाई हिजो के भएको थियो कोत पर्व, भण्डारखाल पर्व किन भएको थियो‚ सयौँ भारदारहरुको हत्या कसरी गरिएको थियो? नेपालको नक्शा संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए?‚’ प्रचण्डले भने, ‘हिजोका राजा, महाराजाहरु अन्तरराष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए? यहीँ अस्ति भर्खरै कोलकातामा तिमीहरुको राजाहरुले बेइज्जत नै गरे छिटो फर्काऊ भन्नुपर्ने स्तर कसले गरेको थियो, दरबार हत्याकाण्ड कसले कसरी गरेको हो यो युवालाई बुझाउनुपर्छ।’

उनले अरु सबै कुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए। उनले राजावादीहरुले गरेको प्रदर्शन संविधानविपरीत भएको जिकिर गरे। 

‘राजनीतिक सिस्टम, राजनीतिक मान्यता परिवर्तन गर्न सकिन्छ‚ परिस्थिति र जनताको चाहनाअनुसार तर एउटा चिज परिवर्तन गर्न सकिँदैन- राष्ट्रिय स्वाधीनता‚ भौगोलिक अखण्डता र जनतामा गएको सार्वभौमसत्ता। सार्वभौमसत्ता यसअघि व्यक्ति र वंशमा आधारित थियो‚ नेपाली जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन सक्दैन‚’ प्रचण्डले भने, ‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधानविपरीत काम हो। जनताको सार्वभौमसत्ता खोस्नेतिर गएका छन्। जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ।’

उनले आफूले राम्रो गर्न खोज्दाखौज्दै आफू नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको आरोप पनि लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.