गण्डकी : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ।
लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन्।
उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए।
“पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो”, उनले भने, “तीनवटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ।”
चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार तय गरेको छ। एयरलायन्सले तीनवटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ। उनले पोखरा–छेन्दु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।
पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।
चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ। यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ।
उनका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।