बिर्तामोड : इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस-११ ले जितेको छ।
मेचीनगर –४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स–११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस-११ च्याम्पियन बनेको हो।
विजेता पेनोरिस–११ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स-११ ले नगद ३० हजार उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रनमात्र बनाउन सक्यो। थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले १४ रन तथा आशिक राना मगरले १३ रन बनाए।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा जोड्न सकेनन्। थण्डर्सका २ जना ब्याट्सम्यान शून्यमा आउट भए।
बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले २/२ विकेट हात पारे भने सन्दिप प्रसादले १ विकेट लिए।
९२ रनको सामान्य लक्ष्य पाएको पेनोरिस-११ ले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य हासिल गर्यो। पेनोरिसका ओपनरद्वय सुभांकर देवनाथ र कञ्चन उप्रेतीले अर्धशतकीय पारी खेले।
सुभांकर २४ बलमा व्यक्तिगत ५२ रन जोड्दै पेवेलियन फर्केका थिए भने कञ्चन उप्रेतीले टिमका लागि १५ रनको योगदान दिए।
थण्डर्सका शिव राजवंशीले २ विकेट लिए भने विराट डाँगीले १ विकेट लिए।
प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका सुभांकर देवनाथ घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थण्डर्सका रोहित राजवंशी म्यान अफ द सिरिज घोषित भए। उनले नगद ५ हजारसहित ट्रफी हात पारे।
फागुन २१ गते शुरु भएको प्रतियोगिताको समापनमा पूर्वीगर्जन डटकमका सम्पादक प्रविण अधिकारीलाई सम्मान गरिएको छ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड बाहुनडाँगीको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न विद्या विकास एकेडेमी, बाहुनडाँगी जेसीजलगायतको सहयोग रहेको छ।
प्रतियोगितामा बाहुनडाँगी युवा क्लब, दमक क्रिकेट क्लब, पेनोरिस-११, थण्डर्स-११, ड्रागन-११, बौद्धमोड क्रिकेट क्लब, सरस्वती क्रिकेट क्लब, झापा क्रिकेट क्लब, बल ब्लाष्टर्स भद्रपुर, लर्ड बुद्ध एकेडेमी काँकरभिट्टा, आदर्श युवा क्लब बुधबारे, ताराबारी युथ क्लबको सहभागिता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।