|

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई उन्नत जातका राँगा वितरणशुरु गरेको छ। किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यो ६२ लाख बराबरको राँगा वितरण गरिएको हो। 

नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न शुरु गरिएको नगरउपप्रमुख विशन राईले बताए। ‘यो वर्ष ४०० राँगा वितरण गर्ने कार्यक्रम छ’, उनले भने, ‘नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ। हालसम्म २०० राँगा वितरण गरिसहेका छौँ।’

१५ वडा रहेको यो नगरपालिकाको वडा नम्बर ३ बाम्राङमा १६ लाख, वडा नं‍. ४ खाल्लेमा सात लाख, वडा नं. ५ लफ्याङमा १२ लाख,  वडा नं. ७ दोर्पामा तीन लाख र वडा नं. १५ विजयखर्कमा आठ लाख ५० हजार रुपैयाँ बराबरको राँगा वितरण गरिएको छ। बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गर्ने उपप्रमुख राईले जानकारी दिए।

राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए। कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद-ढुवानी तथा वितरण गर्ने गरिएको छ। कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ। राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने नगरपालिकाले जनाएको छ। 

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ। नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.