काठमाडौँ : आज (मंगलवार) त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
विहान ८ बजेदेखि ४६ आङ्गिक र सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरू भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए।
मतदान अपराह्न ४ बजेसम्म हुनेछ। अधिकांश क्याम्पहरूमा निर्वाचन भइरहेको छ तर जहाँ विद्यार्थी संगठनहरूले हार्ने सम्भावना देखियो त्यहाँ भने उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन्। जसकारण ती क्याम्पसमा निर्वाचन प्रकृया रोकिएको छ।
एमालेनिकट अनेरास्ववियुले मध्यरातमा आरआर क्याम्पसमा ताला लगाएपछि निर्वाचन रोकिएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने निर्वाचन गराउनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेकाे छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले लालकिल्ला भत्किने डरले अखिलले मध्यरातमा ताला लगाएको बताएका छन्। तत्काल निर्वाचन हुनुपर्ने उनको माग छ।
त्यस्तै, अनेरास्ववियुले कान्तिपुर इन्जिनियरिङ कलेजमा पनि ताला लगाएपछि अहिले चुनावी प्रक्रिया रोकिएको छ। चुनावी प्रकृया रोकिएपछि यता माओवादीनिकट अखिल क्रान्तिकारीले भने छिटो चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूको मताधिकार खोस्ने कदमप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, कलेज प्रशासनलाई स्थगित गरिएको निर्वाचन प्रक्रिया तत्काल सुचारू गर्न हामी आग्रह गर्दछौँ, अन्यथा, बाध्य भएर सशक्त विरोधका कार्यक्रम अघि बढाउनेछौँ।’
५ विद्यार्थी संगठनले वीरेन्द्र बहुमुखी क्याम्पसलगायत चितवनका विभिन्न पब्लिक क्याम्पसहरूमा तालाबन्दी गरेपछि निर्वाचन रोकिएको छ।
वीरेन्द्र बहुमुखी क्याम्पसका अनुसार उम्मेदवारको मनोनयन र मतदाताको अन्तिम नामावलीसमेत प्रकाशन भइसकेको अवस्थामा चैत २ गतेका दिन ५ विद्यार्थी संगठनले वीरेन्द्र बहुमुखी क्याम्पसलगायत चितवनका विभिन्न पब्लिक क्याम्पसहरूमा तालाबन्दी गरी सिर्जित असहज परिस्थितिमा क्याम्पसले सम्पादन गर्दै आइरहेको निर्वाचनको अन्तिम चरणका कार्यक्रमहरू स्थगन भएका छन्।
यस्तै, ललितपुरको पाटन संयुक्त क्याम्पस र कालिकोटको नन्दादेवी क्याम्पसमा पनि ताला लागेपछि स्ववियु निर्वाचन स्थगित भएको छ। अन्य क्याम्पसहरूमा पनि हार्ने सम्भावना देखिएपछि विभिन्न पार्टीनिकट विद्यार्थी संगठनहरूले क्याम्पसमा ताला लगाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।