|

ढाका : अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डले बंगलादेशमा हिन्दु, बौद्ध र अन्य धार्मिक अल्पसंख्यकमाथि भएको अत्याचार चिन्ताजनक भएको बताएकी छिन्।

उनले बंगलादेशमा भएका घटना इस्लामिक विद्रोहको उद्देश्यसँग जोडिएको बताएकी छन्।

एनडीटीभीसँगको एक अन्तरवार्तामा सोमवार अमेरिकाकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डले बंगलादेशमा भएको हिंसा र संकट निकै दुःखद भएको स्पष्ट पारेकी छन्।

उनले बंगलादेशमा अल्पसंख्यकमाथि हुने हिंसा अमेरिकाका लागि चिन्ताको विषय भएको बताउँदै यसो नगर्न मोहम्मद युनुस नेतृत्वको सरकारलाई सन्देश पनि दिएकी छिन्।

तुलसी गबार्डले भनिन्‚ ‘बंगलादेशमा हिन्दु, बौद्ध, इसाई लगायतका धार्मिक अल्पसंख्यकहरूको दुर्भाग्यपूर्ण उत्पीडन, हत्या र दुर्व्यवहारप्रति अमेरिकी सरकार चिन्तित छ।’

गबार्डले इस्लामिक कट्टरपन्थी संगठनहरूले विश्वभर इस्लामिक शासन गर्न खोजिरहेको बताइन्। यसबाट विश्वका अन्य धर्मका मानिसहरूलाई गम्भीर खतरा पैदा गरेको उनको भनाइ छ।

अन्तरवार्तामा बंगलादेशको विषय अहिले चिन्ताको विषय बनेको उल्लेख गर्दै गबार्डले डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको नयाँ मन्त्रिपरिषद्ले बंगलादेशको अन्तरिम सरकारसँग वार्ता शुरु गरेको बताइन्। बंगलादेशमा शेख हसिनाको सरकारको पतनपछि हिन्दुहरूमाथि आक्रमण बढेको चर्चा गरिन्।

उनले आफ्नो टिप्पणीमा इस्लामिक आतङ्ककारीको खतरा र विभिन्न आतंकवादी समूहका विश्वव्यापी प्रयास एउटै विचार र उद्देश्यमा निहित रहेको बताइन्।

गबार्डले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इस्लामिक आतंकवादलाई बढावा दिने विचारधारालाई चिन्न र त्यसलाई पराजित गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै मानिसहरूमा आतंक फैलाउने उनीहरूको क्षमतालाई परास्त गर्न काम गरिरहेको बताइन्।

उनले यो विषयमा अमेरिकी सरकारले बंगलादेशसँग वार्ता गरिरहेको खुलासा गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.