सरकारी अस्पतालमा उपचार गर्ने स्ट्रोकका विरामीले पाउने

|

काठमाडौँ : सरकारले यसअघि निःशुल्क दिने घोषणा गरेको पक्षघात (स्ट्रोक)का विरामीको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधि काठमाडौँ आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार केही दिनअघि मात्रै उक्त औषधि काठमाडौँ आइपुगेको हो। काठमाडौँ आएर पनि केही दिन भन्सार प्रक्रिया पूरा गर्न अन्ताराष्ट्रिय विमानस्थलमै राखिएको उक्त औषधि अहिले भन्सारको सम्पूर्ण प्रक्रिया पूरा गरेर टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डार कक्षमा राखिएको प्रवक्ता डा. बुढाथोकीले बताए। ‘ यसअघि स्ट्रोक थ्रोम्बोलाइटिक ड्रग्स औषधि आइपुगेको छ। अब सम्पूर्ण तयारी पूरा गरेर उक्त औषधि वितरण गर्नेछौँ।’

एक वर्षलाई पुग्ने आठ सय भायल औषधि आइपुग्यो

डा. बुढाथोकीका अनुसार अहिले आठ सय भायल औषधि आइपुगेको बताए। ‘नेपालमा उपचार सेवा दिँदै आएका न्युरो सर्जन र न्युरो फिजिसियन डाक्टरसँग एक वर्षमा कति जति औषधि चाहिन्छ भन्ने सल्लाह गरेर हामीले सोही बमोजिम आठ सय भाइल उक्त औषधि माग गरेका थियौँ। तदनुरूप उक्त औषधि आएको हो’‚ डा. बुढाथोकीले भने।

स्ट्रोकको विरामीको उपचारमा प्रयोग गरिने ‘थ्रोम्बोलाइटिक ड्रग्स’नामक औषधि महँगो र दुर्लभ औषधि हो। उक्त औषधि अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफको सहयोगमा नेपालमा आइपुगेको हो।

सरकारी अस्पतालमा उपचाररत विरामीका लागि निःशुल्क औषधि उपलब्ध गराउन दुई महिनाअघि अर्थात् ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबीच सम्झौता भएको थियो। तदनुसार अहिले उक्त औषधि नेपाल आइपुगेको हो।

नेपालमा पैसा तिरेरै प्रयोग गर्छु भन्दा पनि सहजै उपलब्ध हुन समेत गाह्रो हुने उक्त औषधिको एक डोजको मूल्य एक लाख ३८ हजार नेपाली रुपैयाँ पर्ने बताइन्छ।

औषधि कुन–कुन अस्पतालमार्फत कसरी वितरण गर्ने भनेर औषधि वितरण कार्यविधि बनाउन थालिएको डा. बुढाथोकीले बताए।

उनले स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपचारात्मक महाशाखालाई समन्वय गरी योजना बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको जानकारी दिए। उनीहरूले वितरण योजना बनाएर मन्त्रालय पठाएपछि सोहीअनुसार औषधि विरामीलाई दिइने डा. बुढाथोकीले बताए।

डा. बुढाथोकीका अनुसार उक्त औषधि न्यूरो सर्जन र न्यूरो फिजिसियनहरूको सिफारिसको  आधारमा  सरकारी अस्पतालहरूमा स्ट्रोकको उपचार गराइरहेका विरामीहरूलाई वितरण गर्ने तयारी रहेको छ।

पक्षघातको औषधि र उपचार हुने निर्देशिका विशिष्टीकृत उपचार सेवा दिँदै आएका  संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने समेत बताइएको छ। ‘न्यूरो सर्जन र न्यूरो फिजिसियनहरूको सिफारिसको आधारमा  सरकारी अस्पतालहरूमा स्ट्रोकको उपचार गराइरहनु भएका विरामीहरूलाई वितरण गर्ने तयारी छ‚ सकभर यही महिनाको अन्तिमसम्ममा यो औषधि हामीले वितरण गरिसक्छौँ’‚ डा. बुढाथोकीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.