|

काठमाडौँ : चैत ४ गते सोमवार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको ट्रकलाई प्रहरीले रोक्यो।

‘गुड्नु छ रोडमा, कमाउनुछ नोटमा,

जिन्दगीको भारी बोक्नुछ चोटै चोटमा’ 

पछाडि यस्तो ‘ट्रक शायरी’ लेखिएको उक्त ट्रकको प्रहरीले खानतलासी गर्‍यो र नभन्दै अवैध तवरबाट ओसारपसार हुन लागेको विदेशी मुद्राको एक भारी बरामद गर्‍यो।

र प्रहरीको फन्दामा परे- २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी रकम ट्रकमा लुकाएर रसुवा हुइँकिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भनिने कुसाङ लामा सोमवार राति प्रहरीको फन्दामा परे।

कुसाङले जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा भनेर ट्रकमा शायरी लेखे पनि खासमा उनी नोटै नोटको भारी बोक्दा रहेछन् ट्रकमा भनेर प्रहरीको खानतलासीले प्रमाणित नै गरिदियो।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार बरामद विदेशी मुद्रासहित सार्वजनिक गर्‍यो। नजिकै थियो उनको ट्रक। त्यही ट्रकमा उनले २५ करोड रूपैयाँबराबरको विदेशी मुद्रा बोकेका थिए।

यतिमात्र कहाँ हो र उनी त यसअघि यसैगरी अवैध सुन ओसारपसार गर्दा पक्राउ परेर केही वर्ष जेल सजाय भुक्तान गरेर फेरि नोट ओसार्न लाग्दा पो पक्राउ परेको पो खुल्यो उनी समातिएपछि!

उनीको ट्रकबाट अमेरिकी डलर, युरोलगायत विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। मंगलवार पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले विशेष सुराकीको आधारमा ट्रक रसुवातर्फ जाँदै गरेका वेला नियन्त्रणमा लिइएको बताए।

खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाईछिपाई ल्याएको अमेरिकी डलर र युरो फेला परेको थियो।

बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार ११९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको वरिष्ट उपरीक्षक बस्नेतले बताए।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको उनले बताए। अवैध सुन तस्करको आरोपमा यसअगाडि ५ वर्ष जेल बसेका उनी निस्किएपछि आमाको नामबाट ट्रक निकालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.