|

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट व्यवसायीको पक्ष लिँदै खुला बजारको वस्तु भाउ व्यवसायीले नै तोक्ने बताएका छन्। 

मंगलवार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो अभिव्यक्ति दिएका हुन्। खुला बजारमा वस्तुको भाउ उद्योगीले तोक्ने उनको भनाइ छ। उनले सरकारको काम उद्योगसँग सम्बन्धी कानुनी समस्या हल गरिदिने मात्र रहेको बताए।

उनले राष्ट्रबैंकले प्रत्येक महिना जारी गर्ने मुद्रास्फीति दरका आधारमा सिमेन्टको मूल्यमा वृद्धि गरिएको हुनसक्ने बताए। उनले सिमेन्टको मूल्य बढाउनुमा लोडसेडिङ लगायतका कारण देखाउँदै राष्ट्रबैंकले तोकेको ब्यालेन्ससिटको आधारमा भन्दा बढी लिए मन्त्रालय एक्सन उत्रिने बताए। मन्त्री भण्डारीले उद्योग पनि बच्ने र उपभोक्ताले सहज रूपमा सिमेन्ट समेत प्राप्त गर्ने वातावरण तयार गर्न मन्त्रालयले उचित समन्वय गर्ने बताए।

मन्त्री भण्डारीले भने, ‘अहिले हामी खुला बजारमा छौं। वस्तुको मूल्य केले तोक्छ त भन्दा बजार र उद्योगीले तोक्छ। हामीले अवलम्बन गरेको यही प्रणाली होइन ?’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले सिमेन्टको मूल्य बढाउनुभन्दा पहिले त्यसको वैज्ञानिक कारणबारे छलफल गर्न व्यवसायीहरूसँग आग्रह गरे।

उनले सिमेन्टको मूल्य सधैं एउटै हुनुपर्छ भन्ने अपेक्षा उपभोक्ताले नराख्ने उल्लेख गर्दै त्यसको कारणबारे अगाडि नै छलफल गर्न जरुरी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.