काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतवार राति लागेको डढेलो नियन्त्रण बाहिर गएको छ।
आइतवार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमवार विहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रणमा आउन नसकेको हो।
गोरखनाथ वनको डढेलो फैलँदै आज विहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ। उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ।
सोमवारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरे पनि डढेलो फैलँदै गएको हो।
आज विहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
सोमवार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो।
एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुबेर ढकालले बताए। उनका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन। स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ।
डढलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको ढकालको भनाइ छ।
उनका अनुसार करिब १९३ हेक्टर क्षेत्रफल रहेको गोरखनाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको अनुमान गरिएको छ। बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ।
हावाहुरी चलेकाले डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ। वनमा डढेलो फैलिइरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताए।
उनका अनुसार जङ्गलका ठूलाठूलो रूखका टुप्पामा समेत आगो लागिरहेको छ। आगलागी भएको क्षेत्र भिरालो भौगालिक अवस्था रहेकाले डढेलो निभाउन निकै कठिनाइ भइरहेको श्रेष्ठले बताए।
डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको तथा पशुपक्षी क्षति नभएको ढकालले बताए।
उनका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानव बस्ती जोखिममा पर्नसक्छ।
दुई दिनदेखिको डढेलोका कारण वरिपरिको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदूषित भएको स्थानीय कमल नेपालले बताए। उनका अनुसार श्वासप्रश्वासमा समस्या तथा आँखा चिलाउने समस्या हुँदै गएको छ।
यसअघि सोही क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो ४ दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो।
खानीखोलाको थामलेख डाँडाबाट सुरू भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमा क्षेत्रमासमेत फैलिएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।