|

टक्सार : भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचना नष्ट भएका हुन्।

नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यसैगरी हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका-४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुईवटा गाईगोठ र तीनवटा सुँगुर जलेका छन्। स्थानीय कुमार राईको ढुंगामाटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यस्तै चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ। बाँसघारीमा लागेको आगो सल्कदै बस्तीसम्म पुग्दा क्षति भएको हो।

जिल्लाको पूर्वी अरुण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको ढुंगा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्रबहादुर राईको गोठ, विक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। अरुण गाउँपालिका-४ मा वनमा लागेको डढेलो सल्कदा स्थानीय सीतादेवी भुजेलको ढुंगामाटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठ जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट चरम्बीले जनाएको छ।

आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका-६, माटोखानीका जयनारायण राईको ढुंगामाटोले बनेको एकतले घर, गोठ र तीन वटा बाख्रा जलेर मरेका छन्। इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार आगलागीबाट एक लाख ८८ हजार बराबरको क्षति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.