धनकुटा : धनकुटामा रहेका जम्मा ७ वटा क्याम्पसमध्ये ४ वटामा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियूको नेतृत्व चयन गरेका छन्।
धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस, जाल्पादेवी क्याम्पस पाख्रिवास र जितपुर क्याम्पसमा सर्वसम्मत स्ववियु निर्वाचित भएको हो।
धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवी क्याम्पस पाख्रिवासमा एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा र जितपुर क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको हो।
धनकुटा बहुमुखी क्याम्पसमा युवा तिम्सिनाको सभापतित्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।
समितिको उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिनराज थापार कोषाध्यक्षमा रञ्जन कार्की चयन भएका छन्।
हिले क्याम्पसको सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषीकुमारी श्रेष्ठ र कोषाध्यक्ष कङन तामाङ चयन भएका छन्।
जाल्पादेवी क्याम्पसको पाख्रीवासको सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषध्यक्षमा झरना राई रहेका सर्वसम्मत चयन भएका छन्।
महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियु सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुना पुलामी मगर, सचिवमा नविन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषाध्यक्षमा सन्जय बानिया चुनिएको निर्वाचन समितिले जानकारी दिएको छ।
यी सबै क्याम्पसका पदाधिकारीमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले भागबण्डा गरेका हुन्।
गोकुण्डेश्वर क्याम्पस, भाषा क्याम्पस र बुधुक क्याम्पसमा भने आन्तरिक समस्याका कारण चुनाव हुन बाँकी रहेको क्याम्पसले जनाएका छन्।
गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघ र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने सहमति भइसकेको छ। बुधुक क्याम्पसमा भने विद्यार्थी संख्या कम भएका कारण स्ववियु गठन अन्योलमा परेको छ।
गोकुण्डेश्वर क्याम्पसमा ३ वटै विद्यार्थी संगठन मिलेर उम्मेदवारी दर्ता गरेका भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि स्थगित गरिएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिए।
भाषा क्याम्पसमा २२ जना विद्यार्थीले अध्ययन गरिरहे पनि २ जनाले मात्रै भर्ना गरेकाले समस्या भएकाले क्याम्पस प्रमुख केशव श्रेष्ठले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।