काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरू भएको छ। यो वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका दुई हजार ७९ केन्द्रमा परीक्षा भएका छन्।
वि.स २०७३ बाट एसइई नाम दिइएको हो। त्यसअघि एसइई एसएलसीका रूपमा परिचित थियो। आजको समयमा एसएलसीलाई एसइईमा परिवर्तन गरे पनि फलामे ढोकाको धङधङी भने बाँकी नै छ।
सरकार र नेपाली सञ्चार माध्यमले पनि एसइईलाई विशेष महत्व दिँदै आइरहेका छन्। आफूले पढिरहेको विद्यालय छोडेर अर्को विद्यालयमा गएर परीक्षा दिनु, नयाँ व्यक्ति र नयाँ परिवेश भेट्नु विद्यार्थीका लागि नौलो अनुभव हुनेछ।
वि.स २०२० सालदेखि ०६३ सालबीचमा एसएलसी दिएका र अहिले समाजको विभिन्न तह र तप्कामा रहेका केही व्यक्तिलाई परीक्षाको मिति, केन्द्र, अध्ययन गरेको विद्यालय र सहपाठीबारे सम्झाउने प्रयास गरेका छौँ।
पुरु रिसाल(वरिष्ठ पत्रकार)
मैले वि.स २०२१ सालमा एसएलसी दिएको हुँ। संस्कृतको पूर्वमध्यमा पढेका व्यक्तिले त्यसबेला एसएलसीका अंग्रेजीको एक पेपर दिएपछि एसएलसीसरह मानिने गर्थ्यो।
मैले संस्कृत प्रदान पाठशालामा पूर्वमध्यमा पढेकाले अंग्रेजीको मात्र पेपर दिएको हुँ। उक्त पेपर पास गरेपछि जुनसुकै विषयमा आइए पढ्न पाइन्थ्यो। त्यसबेला परीक्षा केन्द्र पद्मोदय हाईस्कुल पुतलीसडकमा परेको थियो।
हाम्रो पाठशालाबाट विपिन कोइराला, अच्युत राजभण्डारी, दिवाकर चन्दलगायत करिब ३ सय विद्यार्थीले एसएलसी दिएका थियौँ।
हर्कबहादुर थापा (काठमाडौं)
एसएलसीलाई आइरन गेट भन्ने गरिन्थ्यो। एसएलसी पास नगरे जिन्दगीका सबै ढोकाहरू बन्द हुन्छन् भन्ने मानसिकता विकास गरिदिएका थिए।
मैले वि.स २०२४ सालमा पोखराको अमर सिंह उच्च माविबाट परीक्षा दिएको हुँ। पढेको पनि त्यही नै विद्यालयमा हो।
रटेर नै पढ्ने चलन थियो। आफ्नै दाइ शिक्षक भएकाले मैले ट्युसन भने पढ्नु परेन। त्यसबेला अग्निधर शर्मा, सन्तबहादुर गुरूङ, ज्ञानप्रसाद गुरूङलगायत २२ जना साथीले परीक्षा दिएका हौँ।
महेश भण्डारी ( सञ्चार उद्दमी)
शुक्रराज बलभद्र माध्यमिक छिनेडाँडा पोखरामा पढ्ने क्रममा एसएलसीमा राम्रो अंक ल्याउन सके डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटा बनिन्छ भन्ने गलत भ्रम थियो।
त्यसभन्दा अगाडि दुई वर्षसम्म उक्त विद्यालयबाट विद्यार्थी पास हुन सकेका थिएनन्। विद्यालयले उत्कृष्ट नतिजा ल्याउनुपर्ने बाध्यता थियो। हामीलाई विद्यालयप्रति असिम प्यार थियो, आफ्नो भविष्यको पनि।
यसर्थ निकै मिहिनेत गरेर पढियो। उच्च अंक आएको थियो। विद्यालयको स्थापनाकाल देखिको त्यो वर्षसम्म सबैभन्दा उच्च अंक हो भन्ने लाग्छ।
२०५२ सालको चैतमा भएको उक्त परीक्षा तालबाहराहीमा केन्द्र परेको थियो। त्यसबेला डा. राजीव पोखरेल, सुनील भण्डारी, रामजी जिसीलगायत १७ जना विद्यार्थी थियौँ।
भूपेन्द्र खड्का (प्रकाशक)
९ र १० कक्षा पढेर वि.स २०५३ सालमा भीमसेन माध्यामिक विद्यालय विहुँ बागलुङबाट परीक्षा दिएको हुँ। सिगाना माध्यमिक विद्यालयमा पढेको हुँ। पास हुनुपर्ने दबाब ज्यादा हुन्थ्यो। राम्रो अंक नआए जिन्दगीमा केही प्रगति हुँदैन भन्ने लाग्थ्यो।
विद्यालय जीवन पार मात्र होइन राम्रो अंक आए जस्तोसुकै चुनौती पार गरिन्छ भन्ने मानसिकता विकास थियो।
डा. सन्तोष गौतम (चिकित्सक)
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता संस्कृत मावि बिजौरी दाङबाट परीक्षा दिएको हुँ।
त्यसबेला मसँगै ४२ जनाले एसएलसी दिएका थिए। गंगाराम पोखरेल, राजेन्द्र भट्टराई, चित्रबहादुर वली लगायतका साथीहरू हुनुहुन्थ्यो। वि.सं. २०५६ सालको त्यो एसएलसी अन्तिम ब्याच हो, जसले ७ सय पूर्णाङ्क परीक्षा दिएको हो।
शिरीष देवकोटा (गायक)
मेरो ब्याच ०५७ को हो। पुरानो कोर्समा ७०० पूर्णाङ्कको परीक्षा दिनुपर्थ्यो। हाम्रो ब्याचले चाहिँ पहिलोपटक ८०० पूर्णांकमा परीक्षा दिएको हो।
दर्लम माध्यामिक विद्यालयमा पढे पनि केन्द्र भने पदम पब्लिक तानसेनमा परेको थियो। हामी स्वर्गीय अरूण अधिकारी, महेन्द्र भण्डारीलगायत ४० जना विद्यार्थी थियौँ।
सलोजा दाहाल (पत्रकार)
२०५९ सालमा एसएलसी दिएकी हुँ। मलाई सिम्बल नम्बर पनि याद छ। हाम्रो क्लासमा ३३ जना विद्यार्थी थिए। हाम्रो ग्रुपमा तारा दाहाल, देवी दाहाल, विष्णुप्रसाद दाहाल, युवराज घिमिरे, डाकुरनाथ घिमिरे, मार्शल रेगन कार्की, सुमन थापा, इन्दिरा निरौला, लक्ष्मी कार्की, लक्ष्मी बानियाँ, धर्मेन्द्र कार्की थिए।
तत्कालीन अवस्थामा वरुणेश्वर गाउँविकास समितिको वडा नम्बर ४ ढुस्केमा रहेको गणेश माविमा पढेको हुँ। शहीद उच्च मावि रामपुरमा परीक्षा केन्द्र परेको थियो। एसएलसीको दिइसकेपछि १० रुपैयाँको टिकट काटेर पालमाथि बसेर दर्पणछायाँ फिल्म हेरेको याद छ।
संगीता थापा (नाट्यकर्मी)
महेन्द्र माध्यमिक विद्यालय भीमफेदीमा अध्ययन गरे पनि वि.स२०६२ सालमा केन्द्र भने मकवानपुर बहुमुखी क्याम्पसमा परेको थियो।
त्यसबेला ५० भन्दा बढी साथीले एकसाथ परीक्षा दिएका हौँ। जसमा ईश्वरी मगर, समिता लामा, रेखा मगरलगायत साथीहरू थियौ। एसएलसी पास नभए जिन्दगी बर्बाद हुन्छ भन्ने लागेको थियो। पास भएर काठमाडौं आएँ
तपाईंको ईमेल गोप्य राखिनेछ ।