|

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको हिउँदे अधिवेशन अचानक अन्त्य गर्ने सरकारको निर्णयको आलोचना गरेको छ। अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्पराविपरीत’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। 

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्मिनाले जारी गरेको विज्ञप्तिमा सरकारले अधिवेशनमा महत्वपूर्ण विधेयकहरू पारित गरिने बताए पनि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ। 

‘आफैँले ल्याएको नीति, कार्यक्रम, र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पूँजीगत खर्च तथा विपद्पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए। यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ। 

माओवादीले सरकारप्रति जनताको विश्वास खस्कँदै गएको सन्दर्भमा, जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभालाई निष्क्रिय तुल्याउनु गम्भीर विषय भएको बताएको छ। 

साथै उसले ‘यसले सरकारको असफल कार्यक्षमता उजागर मात्र गरेको छैन, जिम्मेवारी पूरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ’ विज्ञप्तिमा उल्लेख गरेको छ। 

विपक्षी दलका केही सांसदले प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयकहरू दर्ता गरेका थिए तर तिनलाई प्राथमिकता नदिएको, प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई सम्बोधन नगरेको पनि विज्ञप्तिमा उल्लेख छ।

माओवादीले सरकारको कार्यसम्पादन ‘निराशाजनक’ रहेको भन्दै अधिवेशनको अचानक अन्त्य गर्नुले त्यसैको संकेत गरेको पनि जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.