|

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गरेका छन्।

उनले आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।

शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।

“क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्न ८ घण्टाका दरले ३ सिफ्टमा काम पनि भइरहेको छ”, उपप्रधानमन्त्री सिंहले भने। 

गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरिएको थियो। उक्त कार्य सम्पन्न गर्न आगामी वैशाख मसान्तसम्म समयसीमा रहेको छ।

दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो। ३ कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए। फ्लडलाइट जडान गर्न ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरी काम थालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.