इलाम : उनी सिंग्लिस (सिंगापुरको एक भाषा) बोल्छन्, फुटबल मन पराउँछन्। लक्सा, चिकेन राइस र रोटी पराठा खान मन पराउँछन्। मार्च २१ मा सिंगापुरको राष्ट्रिय रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मौका पाउनेछन्, तर आफ्नो जन्म देश सिंगापुरको प्रतिनिधित्व गर्नुको सट्टा नेपालको लाइनअपमा हुनेछन् लकेन लिम्बू।
“सिंगापुर फर्कनु विशेष अनुभूति हो, किनकि यहाँबाट मेरो कथा, फुटबलरको रूपमा मात्र होइन, एक व्यक्तिको रूपमा पनि सुरु भएको थियो।’ लकेनले भने, “यहाँ फर्कन पाउँदा म धेरै खुसी र सम्मानित महसुस गर्दै छु, र केही परिचित दृश्यहरू हेर्नको लागि पर्खन सक्दिन, र आशा छ केही परिचित अनुहारहरू पनि।’
सिंगापुर प्रहरी बलमा सेवा गरेका र आफ्नो फुटबल करियरको आधारस्तम्भ बनेका गोर्खाका छोरा लिम्बूको जन्म २००२ मा सिंगापुरमा भएको थियो। उनले सेडार प्राइमरी स्कूल र सेराङ्गुन गार्डेन सेकेन्डरी स्कुलमा पढेका थिए र अन्जा सकर एकेडेमी र एफ–१७ एकेडेमीमा तालिम लिएका थिए, त्यसपछि २०१९ मा आफ्नो बुबाको कार्यकाल समाप्त भएपछि उनी आफ्नो परिवारसँग नेपाल फर्किए।
एफ–१७ एकेडेमीमा, उनले मार्क टान, जिकोस चुआ र जमानी जाम्रीसँग खेलेका थिए। जो पछि सिंगापुर प्रिमियर लिगमा खेल्दै छन्। मार्च २१ मा लकेन अर्का पूर्व टोली साथी इल्हान फान्डीविरुद्ध नेपाल टिमबाट खेल्दैछन्।
स्ट्रेट टाइम्ससँग कुरा गर्दै लकेन भन्छन् ‘मैले सानै उमेरमा फुटबल खेल्न थालेको थिएँ र हामी नेपालीहरू बसोबास गर्ने गोर्खा क्याम्प (माउन्ट भर्नन क्याम्प) भित्र हुर्किँदै गर्दा प्रायः सडक फुटबल खेल्थेँ। त्यसपछि, मैले अन्तर–विद्यालय फुटबल खेले जसले मलाई प्रतिस्पर्धात्मक फुटबलमा उजागर गर्यो, र मलाई एउटा फाइदा भनेको म आफूभन्दा ठूला केटाहरूसँग खेल्थे।’
‘एकेडेमीहरूमा, प्रशिक्षण सधैँ रमाइलो थियो तर त्यतिबेला प्रतिस्पर्धात्मक थियो किनभने उनीहरु पहिले नै उमेर–समूह स्तरमा आफ्नो देशको प्रतिनिधित्व गरिरहेका थिए, जबकि म केवल अन्तर–स्कुल खेलहरू खेलिरहेको थिएँ। मलाई थाहा थियो कि मैले आफूलाई प्रमाणित गर्न अतिरिक्त कडा परिश्रम गर्नुपर्छ। पूर्व टोली साथीविरुद्ध खेल्न एकदमै रमाइलो हुनेछ।’
सिंगापुरविरुद्ध ३६ वर्षपछिको नेपाल खेल्दैछ। त्यस समयको नेपाल र सिंगापुरको फुटबल लयमा धेरै भिन्नता आएको छ। सिंगापुर अहिले १६० स्थानमा रहँदा १५ स्थान तल नेपाल छ।
अहिले लकेन मात्र हैन उनको पूर्व टिममेट इल्हान फान्डीसमेत पुनर्मिलनको लागि उत्सुक छन्। ‘म इन्स्टाग्राममा उसले गरिरहेको कामलाई पछ्याउँछु, र हालसालै उसले मलाई सन्देश पठायो, ’चाँडै भेटौँला’। म भन्छु, ’ओहो, म तिमीविरुद्ध खेल्नेछु, हामीले जर्सी साट्नुपर्छ’। उनी एकेडेमीमा हाम्रो लागि एक उत्कृष्ट खेलाडी थिए र म उनलाई फेरि भेट्न पाउँदा उत्साहित छु।’
बुबा सिंगापुर पुलिसबाट रिटायर्ड भएर नेपाल फर्किएपछि लकेनले झापा एफसीबाट फुटबल खेले। सन् २०२१ मा ए डिभिजन क्लब थ्रीस्टार उनको रोजाई बन्यो। त्यसपछि उनी मच्छिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेडमा उनले एएफसी कप र एएफसी च्यालेन्ज लिग छनोट खेल्न पाए। २०२४ मा, उनले सिंगापुरस्थित एजेन्सी रुकबुक स्पोट्र्सको कारण भारतको दिल्ली एफसीमा खेल्ने अवसर पाए।
अन्तर्राष्ट्रिय स्तरमा, उनले २०२३ मा फिलिपिन्ससँग १–० को हारमा आफ्नो पहिलो क्याप प्राप्त गरेका थिए। त्यसपछिको अवधिमा उनले १३ क्याप र नेपालका नयाँ प्रशिक्षक म्याट रसको विश्वास जिते।
अस्ट्रेलियाली प्रशिक्षकले भनेः ‘लकेन केही दिन अघि दिल्ली एफसीबाट हामीसँग सामेल भए। उनी शारीरिक र प्राविधिक रूपमा हाम्रो लागि एक प्रमुख खेलाडी हुनेछन्, र हामी उनीबाट ठूला कुराहरूको अपेक्षा गर्छौं।
प्राविधिक रूपमा, हाम्रा खेलाडीहरू उत्कृष्ट छन्, र तिनीहरूले टोलीलाई समस्या निम्त्याउन सक्छन्। हामी सिंगापुरलाई दबाब दिने प्रयास गर्नेछौँ। त्यो कुनै गोप्य कुरा होइन। मलाई पक्का छ कि उनीहरूले पनि हामीलाई दबाब दिनेछन्।
त्यसैले हामी एक मनोरञ्जनात्मक खेलको लागि तयार हुनुपर्छ। मलाई विश्वास छ कि हामी सिंगापुर विरुद्ध सकारात्मक नतिजा प्राप्त गर्न सक्छौ।’ नेपालले सिंगापुरसँगको तीन हारको श्रृंखला अन्त्य गर्ने प्रयास गरिरहेको बेला, लकेनले युरोप वा एसियाको शीर्ष लिगहरू मध्ये एकमा खेल्ने लक्ष्य राखेका छन्।
(द स्ट्रेट टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद)
तपाईंको ईमेल गोप्य राखिनेछ ।