काठमाडौँ : वोङ्छु पिक एण्ड मुसा मसला राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिप शुक्रवार काठमाडौँमा शुरु भएको छ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएशनको आयोजनामा काठमाडौँ महानगरपालिका–१६ स्थित कालधारा पकनाजोलमा काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा खेल शुरु भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गरेका थिए।
सो अवसरमा घिसिङले ओलम्पिक खेलका रूपमा रहेको स्पोर्ट्स क्लाइम्बिङको नेपालमा धेरै सम्भावना रहेको धारणा राखे।
विभिन्न प्रदेशका ६ महिला र १३ पुरुष गरी कुल १९ खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन्।
दुईदिने प्रतियोगितामा शुक्रवार पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइङ राउण्ड पूरा भएको छ। यहाँबाट ८ जना खेलाडी फाइनल खेलका लागि छनोट भएका छन्।
महिलाहरूको भने क्वालिफाइङ राउन्डमा बोल्डरिङ खेल प्रतियोगितामात्र सम्पन्न भएको छ।
राष्ट्रियस्तरको यो प्रतियोगिता क्लाइम्बिङ स्पोर्टको अन्तरराष्ट्रिय महासंघको विधिअनुसार बोल्डरिङ र लिड कम्बाइन विधामा पहिलोपल्ट नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिए। साहसिक तथा पर्यटन र खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरू उक्त खेलमा उपस्थित थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।