लेखक, प्रकाशक र सरकारी अधिकारी भन्छन्, अर्को संस्करणमा सच्याउँछौँ
लेखक, प्रकाशक र सरकारी अधिकारी भन्छन्, अर्को संस्करणमा सच्याउँछौँ
काठमाडौं : अनुशासन भन्ने शब्द अनु र शासन अर्थात् आफूमाथि शासन गर्नु यही शासनअनुसार आफ्नो जीवन चलाउनु नै अनुशासन हो भन्ने बुझाउँछ । (एकाइ- २ पाठ- १, आत्मअनुशासन, पृ. ४४)
सामान्य अर्थमा बुझ्दा विवाद भन्नाले मौखिक झगडा, मनमुटाव, दुस्मनी असहमति र विवादजस्ता कुरालाई बुझाउँछ । (एकाइ- ४, पाठ- ४, विवाद र यसको समाधान पृ. १३२)
सामाजिक नियम भन्नाले समाजका सदस्यहरूले समाजलाई सुन्दर स्वस्थ र व्यवस्थित राख्नलाई बनाएका नियम भन्ने बुझिन्छ । (एकाइ- ३, पाठ- ६, हाम्रा सामाजिक नियमहरू पृ. १०५)
सामान्य बोलीचालीको भाषाका आफूलाई दैनिक रूपमा चाहिने खाद्यान्नको आपूर्ति होस् भन्ने उद्देश्यले जमिनमा गरिने खेतीपाती, जनावर पालेर मासु, ऊन, दुध, छाला आदिको उत्पादन गर्ने अभ्यासलाई कृषि भनिन्छ । (एकाइ- ६ पाठ-२, कृषि र उद्योग पृ. १७९)
माथिका यी चार पङ्क्ति पढ्दा तपाईँलाई लाग्यो होला, ३-४ कक्षामा पढ्ने कुनै विद्यार्थीले लेखेको होला। तर होइन यो लेखाइ कम्तीमा स्नातकोत्तरदेखि र विद्यावारिधिसम्मको उपाधि लिएका ‘पाठ्यपुस्तक लेखक’को हो।
काठमाडौँको बसुन्धरास्थित एशिया पब्लिकेसनले २०७९ मा छापेको कक्षा- ६ को पाठ्यपुस्तक ‘सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा’ का केही पाठका पहिलो वाक्य हुन्। अझ भनौँ शीर्षकअनुसारका परिभाषा ।
भाषिक र तथ्यगत बग्रेल्ती त्रुटि रहेको यही पुस्तक वर्षभर पढेका भक्तपुर सानोठिमीस्थित नालन्दा विद्यामन्दिरका २७ विद्यार्थीको वार्षिक परीक्षा यही मंगलबार शुरु हुँदैछ। यो विषयको परीक्षा यही २० गते तोकिएको छ। अब तपाईँ आफैँ अनुमान गर्न सक्नुहुन्छ, यस्तो परिभाषा पढेका विद्यार्थीले कस्तो परीक्षा दिन्छन् होला?
कमलमोहन शर्मा र डा. सुनिलकुमार पोखरेल तथा डा.नारायणप्रसाद शर्मा गैरे भाषा सम्पादक रहेको पुस्तकमै भएका अरु केही गम्भीर त्रुटि हेरौँ-
दश दिनसम्म चल्ने यो चाड आश्विन महिनाको शुक्लपक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । (पृ. ६१)
...छठको मतलब औँसीको छैटौँ दिन भन्ने हुन्छ । यो चाड कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ । छठको अघिल्लो दिन व्रत बसी भोलि पल्ट नदीमा गई नुहाएर उदाउँदो सूर्यको पूजा गरिन्छ । (पृ. ६३)
कोतपर्व पछि रानीको मन जित्न सफल जङ्गवहादुरले मानवर सिंह थापाको हत्या गरे । (पृ. १६०)
दशैँ कति दिन, १० दिन कि १५ दिन विद्यार्थीलाई भ्रम पारिएको छ। एकातिर १० दिन मनाइन्छ भनिएको छ। अर्कातिर प्रतिपदादेखि पूर्णिमासम्मको अवधि तोकिएको छ।
अर्को वाक्यमा छठको विषयमा गलत कुरा उल्लेख छ। सबै औँसीपछिको छैटौँ दिन छठ भन्ने अर्थ लागेको छ। शुक्ल षष्ठीमा मनाइने भनिँदै गर्दा अर्को वाक्यले अलमलमा पारेको छ। ‘छठको अघिल्लो दिन व्रत बसी भोलिपल्ट भनेको...’ कहिले? छठको सबैभन्दा महत्त्वपूर्ण षष्ठीको साँझ ‘अस्ताउँदो सूर्यलाई अर्घ्य दिने’ तथ्य उल्लेख नै छैन।
जङ्गबहादुर राणाद्वारा हत्या गरिएका मानवर सिंह थापा नभई माथवरसिंह थापा हुन्, जो उनका मामा पनि हुन्। प्रधानमन्त्री रहँदै उनको हत्या भएको थियो।
पाठ्यपुस्तकमा लापरबाहीको पराकाष्ठा देख्न सकिन्छ। एक शब्द एउटै पृष्टमा एक शब्द तीनथरी लेखिएको छ। पृथ्वीनारायण-पृथ्विनारायण-पृथ्वी नारायण (पृ. १४३)। अझ कतै त ‘पृथ्वीनाराणय’ समेत छ। विद्यार्थीले कुनचाहिँलाई शुद्ध मानेर पढ्ने, लेख्ने?
घनुषा-धनुषा (पृ.२८), स्तुप-स्तूप (पृ. ५९), धर्मावलम्वी-धर्मावलम्बी (पृ. ५७), कर्तव्य-कर्तब्य (पृ. ९२), बोक्सी-वोक्सी (पृ. १२२) शाह-साह (पृ. १४३), बहादुर–वहादुर (पृ. १६०) जस्ता एउटा शब्द एउटै पृष्टमा दुईथरी भेटिन्छ। अघिल्लो अक्षरमा लाग्नुपर्ने चन्द्रविन्दुलाई पछिल्लोमा, पछाडिमा लाग्नुपर्ने अगाडि लगाएको त बग्रेल्ती भेटिन्छन्। (उदाहरण-साझँ, गाँउ) चन्द्रविन्दु लगाउने ठाउँमा शिरविन्दु र शिरविन्दु लाग्नुपर्ने ठाउँमा चन्द्रविन्दु त कति हो कति।
महाभारतलाई ‘भहाभारत’ (पृ. २४६), विद्युतीयलाई ‘विघुतीय’ (पृ. २५९), काउन्सिललाई ‘काउनीसल’ (पृ. १८६) लेखिएको केही उदाहरण मात्र हुन्। आवश्यक नपर्नेमा आकार लगाइएको र आवश्यक पर्नेमा हटाइएको प्रशस्तै छन्। जोडेर लेख्नुपर्ने शब्दलाई छुटाइएको र छुट्टाछुट्टै लेख्नुपर्ने शब्द जोडेर लेखेका उदाहरण प्रशस्त छन्। यिनलाई ‘प्रुफ मिस्टेक’ मात्र मान्न सकिने अवस्था छैन।
विश्वसम्पदा सूचीमा उल्लेख १० सम्पदामध्ये तीनवटाको नाम नै अशुद्ध छ। बौद्धनाथलाई ‘बुद्धनाथ’ भनिएको छ। काठमाडौँ दरबार क्षेत्रलाई काडामाडौँ दरबार क्षेत्र उल्लेख छ। चाँगुनारायणको नाम ‘चाङ्गुनारायण’ छ। नवरात्रमा पुजिने देवीहरूको नाम गलत छ। पाँचौँ देवीको नाम ‘सकन्धमाता’ छ। नवौँ देवीको नाम ‘सिद्धदा’ उल्लेख छ। नवदुर्गामध्येकी पाँचौँ देवीको नाम स्कन्दमाता र नवौँको नाम सिद्धिदात्री हो।
लापरबाहीको नमुना एकाइ- ३ को पाठ- ३, हाम्रा कर्तव्यहरू शीर्षकको पाठमा देख्न सकिन्छ। त्यहाँ रहेको अन्तरक्रियामा रहेका जनार्दन सापकोटा अर्को पृष्ठमा ‘जनार्जन’ मा परिणत हुन्छन्। (हे. पृ. ९१–९२)
प्रकाशक एशिया पब्लिकेसनका अध्यक्ष गोपाल खनाल यो पुस्तक काठमाडौँ उपत्यकाकामा मात्र होइन देशभरका विद्यालयमा पढाइ हुने बताउँछन्।
यस्तो त्रुटिपूर्ण पाठ्यक्रम देशभरका कति विद्यालयले पढाइरहेका होलान्? उनले तथ्याङ्क दिन भने मानेनन्। ‘देशभर पढाइ हुन्छ। तर हामीसँग तथ्याङ्क छैन’, उनले भने।
चालु शैक्षिक सत्रमा मात्र होइन, अघिल्ला दुई वर्ष यो पाठ्यपुस्तक पढाइसकिएको छ। यिनै तथ्य पढेका विद्यार्थी ७, ८ र ९ कक्षामा जाने तयारी गर्दैछन्।
पुस्तक अशुद्ध र त्रुटिपूर्ण भए पनि आफ्ना शिक्षकले सच्याएर पढाइरहेको नालन्दा विद्यामन्दिरका प्रधानाध्यापक प्रिन्सिपल वसन्त अर्यालले दाबी गरे। त्रुटिपूर्ण रहेको थाहा पाउँदापाउँदै किन त्यो पुस्तक वर्षभर पढाए त उनले? ‘सरकारले स्वीकृति दिएको पुस्तकको विश्वास नगर्ने कुरा पनि भएन। लियौँ’, उनले भने, ‘त्रुटिपूर्ण रहेछ भन्ने पढाउँदै गर्दा थाहा भयो। सच्याएर पढाइरहेका छौँ।’
अघिल्लो शैक्षिक वर्ष शुरु हुँदै गर्दा चाँडो विद्यार्थीको हातमा पुस्तक पुर्याउने लोभका कारण यो समस्या भएको उनले बताए। कक्षा ६ मै राखेको त्यही पब्लिकेसनको नेपाली पुस्तक पनि त्रुटि भएको पाएको उनले बताए। ‘अर्को वर्ष ती पुस्तक हटाउँछौँ’, उनले भने, ‘अर्को प्रकाशनको पुस्तक राख्दैछौँ।’
अब प्रश्न उठ्छ पाठ्यपुस्तकको नियमन गर्ने जिम्मेवारी पाएको पाठ्यक्रम विकास केन्द्रले त्यति त्रुटिपूर्ण पुस्तक पढाउन अनुमति किन दियो? तीन वर्ष भइसक्दा पनि किन त्रुटि सच्याउन लगाएन?
आश्चर्य लाग्ने कुरा के भने, पुस्तकमा गल्ती भएको कुरा न लेखकले थाहा पाए। न लेखकले, न त आफैँले स्वीकृति दिएको पाठ्यक्रम विकास केन्द्रले।
प्रकाशक खनालले बुधबार थाहाखबरसँगको कुराकानीमा सामान्य मानवीय त्रुटि भएको हुनसक्ने दाबी गरे। हामीले गम्भीर त्रुटि औँल्याइदिएपछि त्यतिसम्मको गल्ती अहिलेसम्म पत्तै नपाएको दाबी गरे।
‘पुस्तकमा त्रुटि छ भन्ने हामीलाई अहिलेसम्म थाहै थिएन’, बुधबार थाहाखबरसँग कुरा गर्दै खनालले भने, ‘हामी व्यावसायिक मानिस भएकाले पाठमा कहाँ त्रुटि भयो भन्ने थाहा हुँदैन’, उनले भने, ‘पुस्तक प्रकाशन भएपछि लेखकले पढेर भन्नुपर्ने हो। भनेनन्। पाठ्यक्रम विकास केन्द्रबाट समेत पुस्तकमा गल्ती भएको केही भनेनन्।’
लेखक शर्माले पनि आफूले गल्ती भएको अहिलेसम्म थाहै नपाएको दाबी गरे। ‘लेखेर बुझायौँ। प्रकाशन भएपछि हेर्यौँ पनि, गल्ती भएजस्तो लागेन’, उनले भने, ‘त्रुटि भएको भनेर कसैले नभनिदिएपछि सही होला भन्ठान्यौँ।’
प्रकाशकले लेखकलाई पुस्तक लेख्न लगायो। लेखकले हतार-हतार लेखे। बुझाए। पैसा बुझे। पाण्डुलिपि तयार भएपछि प्रकाशकले दर्ता शुल्कसहित बुझायो। जिम्मेवार अधिकारीले झारा टारे। राम्रोसँग हेर्दै हेरेनन्। त्यहाँबाट स्वीकृति पाएपछि छाप्यो। विद्यालयका सञ्चालकलाई बेच्यो।
नियामक निकायले चाहिँ किन गरेन धर्म निर्वाह? स्वीकृति दिएर पुस्तक छापिइसकेपछि केन्द्रका अधिकारीले त्यसले हेर्ने झञ्झट किन गरेनन्?
केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ कुनै पनि प्रकाशकले निश्चित प्रक्रिया पूरा गरेपछि मात्र पुस्तक छाप्न पाउने बताउँछन्। उनका अनुसार पाठ्यपुस्तक दर्ताका लागि तीन महिनाको समय दिएर असारतिर आह्वान गर्छ। नेपाली भाषा व्याकरण र समाजशास्त्रसम्बन्धी दर्जनौँ पुस्तक स्वीकृतिका लागि आउने उनी बताउँछन्। प्रकाशकले स्वीकृति लिन चाहेको पुस्तकको पाण्डुलिपि बुझाएपछि उपयुक्त छ कि छैन भनेर विज्ञले हेर्छन्।
‘विज्ञले हेरिसकेपछि केन्द्रकै तीन सदस्यीय समितिले पुनः परीक्षण गर्छ’, उनले भने, ‘त्यसपछि मात्र पुस्तक छाप्ने अनुमति दिइन्छ।’ यो पुस्तकले पनि सरकारी प्रक्रिया पूरा गरेको छ।
केन्द्रले दिएको स्वीकृति पत्रमा भनिएको छ, ‘यो स्वीकृति शैक्षिक वर्ष २०७९, २०८० र २०८१ का लागि प्रदान गरिएकाले सोही बमोजिम प्रकाशन बिक्री वितरण र प्रयोग गर्नु गराउनु हुन सम्बन्धित सरोकारवाला सबैमा अनुरोध छ।’ स्वीकृति पत्रमा अधिकृत मीनबहादुर थापाको हस्ताक्षर छ।
यसरी स्वीकृति पाएपछि प्रकाशकले पुस्तक छाप्यो। केन्द्रको नियमअनुसार छापिइसकेपछि बजारमा जानुअघि एकप्रति पुस्तक पनि बुझायो। कस्तो छापिएको रहेछ भनेर पुस्तक पल्टाउने झञ्झट केन्द्रका अधिकारीले गरेनन्। अर्थात् हेरेनन्।
महानिर्देशक श्रेष्ठका अनुसार यो पुस्तक यति त्रुटिपूर्ण छ भनेर कसैले पत्तै पाएनन्। सरोकारवालाले जानकारी नै दिएनन्।
तीन वर्ष बितिसकेको सन्दर्भमा प्रकाशकले अर्को तीन वर्षका लागि निवेदन दिएको छ। ‘स्वीकृतिको अवधि सकिएकाले अर्को अवधिका लागि हामीकहाँ पेश भएको छ’, केन्द्रका महानिर्देशक श्रेष्ठले भने, ‘आगामी संस्करणमा सच्याउन कडाइ गर्छौँ।’प्रकाशक खनालले अर्को स्वीकृति लिने वेला भएकाले सबै त्रुटि सच्याएर पठाउने बताए।
शिक्षाविद् डा.विद्यानाथ कोइराला त्रुटियुक्त पाठ्यपुस्तक विद्यार्थीलाई पढाइरहनु जिम्मेवारीबोधहीनताको परिणाम भएको बताउँछन्। ‘कुनै पनि पक्षले आफ्नो जिम्मेवारी पूरा नगेको देखियो, उनी भन्छन्, ‘तथ्य जाँच नगरी पुस्तक लेख्ने लेखक, नाफा मात्र हेर्ने प्रकाशक, विद्यालय सञ्चालक र राम्रोसँग नहेरी स्वीकृति दिने र अनुगमन नगर्ने सरकारी निकाय सबै यसमा जिम्मेवार छन्।’
पाठ्यपुस्तकका विषयवस्तु रट लगाउने परिपाटीका कारण यस्तो समस्या आइरहने उनी बताउँछन्। ‘पाठ्यपुस्तक गल्ती पनि हुनसक्छ, खोजेर ‘भेरिफाई’ गर्नुपर्छ भन्ने संस्कृति शिक्षक र विद्यार्थीमा विकास गर्न आवश्यक छ’, उनी थप्छन्।
केन्द्रका महानिर्देशक श्रेष्ठ पनि नयाँ शैक्षिक सत्रमा पुस्तक चयन गर्दा विद्यालय र अभिभावक दुवै सचेत बन्नुपर्ने बताउँछन्। ‘विद्यालय सञ्चालकले आफूले राख्न लागेको पुस्तक कतिको उपयुक्त छ भन्ने हेर्नुपर्छ’, उनी थप्छन्, ‘विद्यालयले कस्ता पुस्तक राख्न लागेको रहेछ भनेर अभिभावक पनि सचेत बन्नुपर्छ।’ प्रकाशकले पनि आफ्नो विश्वसनीयता कायम राख्न सक्नुपर्ने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।