|

काठमाडौं : करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहर जस्तै बनेको छ। धरहरा पुननिर्माणको काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुननिर्माणको काम पाएको भएपनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय अभियन्ता र बासिन्दाहरूले विरोध गरेका थिए। सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने र नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ। 

सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण सुरु गरेको भएपनि सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको थियो। 

२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो। पर्खाल र भुइँमा बिछ्याएका ढुंगा भूकम्पले चर्किएका थिए। त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए।

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्नेगरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो। सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ।

उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौंको सुन्धारा सबैभन्दा महत्वपूर्ण मानिन्छ। यहाँ एकै ठाउँमा पाँचवटा सुनका धारा थिए। तर, अहिले तीनवटा मात्रै सुनका धारा छन्। करिब २० वर्षअघि चोरिएका दुइवटा सुन्धारा अझै भेटिएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.