|

काठमाडौँ : सामान्यतया दलहरूको पार्टी बैठकमा अन्य दलका नेतालाई प्रवेश दिइँदैन तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) शनिबार सम्पन्न केन्द्रीय समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नेसपा) की उपाध्यक्ष मानुषी यमी भट्टराई सहभागी भए। 

नाउपासँगै एकता हुन लागेकाले जनमत अध्यक्ष राउत पुग्नुलाई सामान्य मानिए पनि नेसपा नेतृ भट्टराईसमेत सहभागी भएपछि ‘जनमत र नाउपाबीचको एकतामा नेसपा मिसिन लागेको हो कि’ भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक थियो। 

फेरि नाउपा संरक्षक रेशम चौधरीको अभिव्यक्तिले नै त्यो आशंकालाई बल पुर्‍यायो। बैठकलाई सम्बोधन गर्दै उनले ‘तपाईँहरू पहिचानको मुद्दा उठाउनुस्, टाउकोमा राख्नुपर्‍यो भने म मेरी छोरी मानुषी पठाइदिउँला’ भनेर नेसपा अध्यक्ष भट्टराईले आफूलाई वचन दिएको सुनाए। 

‘अब हामी एक हुन्छौँ, एक हुनुपर्छ। जनमत र नागरिक उन्मुक्ति पार्टी, पहिचानको मुद्दा, तपाईँ दुईजनाले उठाउनुस्, टाउकोमा राख्नुपर्‍यो भने म मेरी छोरी मानुषी पठाइदिउँला भनेर डा.बाबुराम भट्टराईले भन्नुभएको छ’, रेशम चौधरीको भनाइ थियो।   

त्यसमा आशंका गर्ने अर्को ठाउँ नेसपाले नै गत महाधिवेशनमार्फत दिएको थियो। माघ अन्तिम साता भएको महाधिवेशनमा उसले अहिलेका प्रमुख तथा पुराना भनिएका दलहरूलाई ‘बाइकट’ गरेर नयाँ भनिएका रास्वपा, जनमत, नाउपा र विवेकशील साझा पार्टीलगायतलाई मात्रै निम्तो दिएको थियो। 

तर नेसपा नेताहरूले एकताका सन्दर्भमा जनमत र नाउपासँग कुनै छलफल नभएको स्पष्ट पारेका छन्। नेसपा उपाध्यक्ष ईश्वर रिजाल फरक कोणबाट चर्चा गरिए पनि यसमा सत्यता नभएको बताउँछन्। आफूहरू एकताभन्दा पनि अहिले पार्टी निर्माणको चरणमा रहेको उनको भनाइ छ। 

‘यो अलिकति फरक कोणबाट चर्चा भएको मात्र हो। हामी भर्खर महाधिवेशन सकेर नयाँ ढंगले गएका छौं। अहिले हामी पार्टी बनाउने चरणमा छौँ। एकताबारे हामीले एकपटक चर्चासमेत गरेका छैनौं’, उनी भन्छन्, ‘फेरि यसको मतलब हामी एकताको विपक्षमा पनि होइन तर अहिले चाहिँ अनपेक्षित प्रचार भएको मात्र हो। के चाहिँ सत्य हो भने हामी सहकार्य पुरानाहरूसँग होइन, नयाँसँगै गर्छौं।’

नाउपाको बैठकमा सामेल भएकी मानुषी स्वयंले पनि खण्डन गरेकी छन्। उनले रेशमको भनाइको गलत अर्थ लगाइएको बताएकी छन्। 

जनमत प्रवक्ता डा. शरदसिंह यादव पनि नेसपासँग एकताबारे छलफल नभएको स्विकार्छन्। तर उनी नाउपासँगको एकीकरणपछि आगामी दिनमा त्यो सम्भावना टाढा नरहेको बताउँछन्।   

‘हाम्रो विचार, एजेन्डा र मुद्दा को–कोसँग मिल्छ, कसले उठाउनुहुन्छ भनेर हामी हेरिहेकै छौं। यसमा स्वाभाविक रूपमा पहिचानको मुद्दा, आदिवासी, मधेशी, थारू, दलितलगायतका मुद्दा उहाँहरू (नेसपा)ले पनि उठाउँदै आउनुभएको छ’, उनी भन्छन्, ‘तर अहिल्यै एकताबारे चाहिँ छलफल भएको छैन। पहिला हामी दुई पार्टी एक भएपछि पछिका दिनमा त्यसका लागि ढोका खुलै रहन्छ। विचार मिल्नेहरूबीच एकताका लागि हामी आफैले पहल पनि गर्छौं।’

जनमत–नाउपा एकता पक्का 

मधेश केन्द्रित दुई दल जनमत र नाउपाबीच भने एकता हुने पक्का भइसकेको छ। मधेशका प्रमुख तथा पुराना भनिएका दलहरू विभाजित भइरहेका वेला गत आमनिर्वाचनबाट उदाएका दुई नयाँ दल भने एकता गर्ने निष्कर्षमा पुगेका हुन्। 

जनमत र नाउपाबीच मुख्य विषय मिलिसकेको छ भने अन्य प्राविधिक विषय पनि एक हप्ताभित्र टुंगिँदैछ। जनमतका प्रवक्ता डा. यादवका अनुसार एकीकृत पार्टीको नेतृत्व डा. राउतले गर्नेछन् भने अहिलेका नाउपा अध्यक्ष श्रेष्ठ सहअध्यक्षका रूपमा रहनेछिन्। जनमतसँग एकता गर्न प्रमुख भूमिका खेलेका रेशम चौधरी एकीकृत पार्टीको पनि संरक्षककै रूपमा रहने उनले स्पष्ट पारे।

उनले भने, ‘हिजो बैठक समापनमा उहाँहरू (नाउपा)ले पहुनाका रूपमा हाम्रो अध्यक्षलाई निम्त्याउनुभयो। त्यहाँ उहाँले जे जस्ता कुरा राख्नुभयो त्यसले झन् माहोल बनायो। राउतजस्तो विद्वान्‌ मान्छेको नेतृत्वमा पार्टी एक भए राम्रो हुन्छ भन्ने बुझाइ उहाँहरूमा देखियो। संरक्षकका रूपमा रेशमजी र सहअध्यक्षमा रञ्जिताजी रहने पक्का भइसक्यो।’,  

बाँकी विषय टुंग्याउन दुबै दलले कार्यदल बनाएका छन्। शनिबार सम्पन्न नाउपा केन्द्रीय समिति बैठकले महासचिव एवं सांसद गंगा चौधरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ भने जनमतले त्यसअघि नै उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाइसकेको छ।  

ती दुबै दलका कार्यदलले पार्टीको नाम के हुने, सङ्गठनात्मक स्वरूप कस्तो हुने, विचारधारात्मक रूपमा कसरी अगाडि जाने र चुनाव चिह्नलगायतका विषय मिलाउने कार्यभार पाएका छन्। यसमा पनि ठूलो समस्या नरहेकाले छिट्टै टुंगोमा पुगिने जनमत कार्यदलका सदस्यसमेत रहेका प्रवक्ता यादवले जानकारी दिए।

उनले भने, ‘मिल्न बाँकी प्राविधिक विषयमा कार्यदलले काम गर्छ। यसमा पनि कुनै सकस छैन। सक्दो छिटो टुंग्याएर एकता घोषणा गरिन्छ।’ 

एकताको मुख्य पहलकर्ता नाउपा संरक्षक चौधरी र जनमत अध्यक्ष डा. राउत हुन्। आफूलाई छलफलमा सहभागी नगराइएको भन्दै सुरुका दिनमा नाउपा अध्यक्ष श्रेष्ठले गुनासो गरेकी थिइन्। 

उनकै कारण एकता भाँडिने आशंका भइरहेका वेला अन्ततः श्रेष्ठ पनि सहमत भएकी हुन्। यद्यपि उनले विचार मिल्नेहरूसँग एकता गर्न कुनै समस्या नरहेको बताउँदै आएकी थिइन्। 

संसद्‌मा छैटौँ ठूलो दल बन्दै

जनमत र नाउपा एकतापछि एकीकृत दल संसद् (प्रतिनिधिसभा) को छैटौँ ठूलो दल बन्नेछ। अहिले संसद्‌मा रहेका १३ वटा दलमध्ये जनमत ८औं र नागरिक उन्मुक्ति ११औं दल हुन्। 

प्रतिनिधिसभामा जनमतका ६ र नाउपाका ४ सांसद छन्। अब यी दुई दलबीच एकता भए १० सांसदसहित त्यो छैटौँ ठूलो पार्टी बन्नेछ। 

पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पनि १० सिट नै छ। यसरी हेर्दा दुबैको समान हैसियत हुनेछ। प्रदेशतर्फसमेत सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.