नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक ९ वर्षीय शिउकुमार गोदिया र ८ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए।
घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन्। प्रहरीका अनुसार सो घटनाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन्।
ट्यांकरका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्यांकर ब्याक गरेर बालकलाई मारेको आरोप बालकका पिता हरिद्वार गोडियाले लगाएका छन्।
आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ। घटनापछि आक्रोशित भिडले आगजनी र तोडफोड गरेको प्रहरी निरीक्षक मल्लले बताए।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रणबाहिर रहेकाले केही राउण्ड हवाई फायर गर्नुपरेको बताए। “घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ”, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।