काठमाडौँ : सांसदहरूले १८ वर्षको उमेरमा नागरिकता दिने, निर्वाचनमा मतदानको अधिकार दिने, राष्ट्रसेवाको अधिकार दिने तर विवाह गर्न किन २० वर्ष कुर्नुपर्ने भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समिति सदस्यहरूले आइतवार विवाहको उमेर सम्बन्धी विषयमा उक्त धारणा राखेका हुन्।
नेपाली काँग्रेसकी सांसद नागिना यादवले विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्नेमा जोड दिइन्। उनले नागरिक समाजका विभिन्न व्यक्तिसँग भएको कुराकानी र छलफलको आधारमा विवाह गर्ने उमेर घटाउनुपर्ने निष्कर्षमा आफू पुगेको बताइन्। उनले समाजले गरेको सिफारिसअनुसार कानून बनाउनुपर्ने बताइन्।
यादवले भनिन्, ‘मान्छेहरूको हर्मोन छिटो विकास भएको अनुसन्धानले पनि देखाइरहेको छ। ती कुराले गर्दा बिहे गर्ने उमेर २० वर्षबाट घटाई १८ वर्षमा गर्नुपर्छ जस्तो मलाई लाग्छ।’
नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले वैवाहिक सम्बन्धको विषयमा व्यक्तिलाई कानूनले प्रताडित गर्न नहुने बताए। प्रजनन क्षमताका आधारमा बिहे गर्ने उमेर २० वर्ष विज्ञानसम्मत भए पनि शारीरिक आवश्यकताका आधारमा विवाहको उमेर घटाउनुपर्ने उनको भनाइ छ।
घर्तीले भने, ‘सरकारले निर्णय गर्दा एउटा विषयमा मात्रै जोड दिनु हुँदैन। वैज्ञानिकहरूले २० वर्षमा जैविक हिसाबले प्रजनन क्षमता विकास भएको हुन्छ तर मानसिक रूपमा परिपक्व हुन महिलाहरू २० वर्षमाथि भए अझ राम्रो हुन्छ भन्ने हो। कानूनी प्रावधानले मान्छेलाई प्रताडित बनाउने कुरा छन्। यसलाई हामीले सच्याउनुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।