‘औद्योगिक क्षेत्रमा १२ घण्टे अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेती गरे’

|

काठमाडौँ : औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु भएको र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप उद्योगी व्यवसायीहरुले लगाएका छन्।

आइतवार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाएका हुन्। 

२४सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिल र धागो उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको र विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका दिन पनि उनीहरुले माग गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भए पनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरुको जिकिर छ। यसरि दैनिक आधा समयमात्र चलाएका मेसिनरीहरु कबाडीमा परिणत हुने चिन्ता उनीहरुको छ। 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप लगाए। 

उनले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा पनि औद्योगिक क्षेत्रले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताए। 

उनले प्राधिकरणकै पदाधिकारीहरुले महँगोमा विद्युत किने उद्योग जोगाउन नसक्ने खालको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। 

‘आज अर्थतन्त्र अचेत छ। कुल ग्राहस्थ उत्पादनमा दिनानुदिन ह्रास आउँदै गइरहेको छ। त्यस्तो अवस्थामा पनि हामी निरन्तर बिजुली नपाउने अवस्थामा छौँ‚’ उनले भने, ‘विद्युत प्राधिकरणका प्रवक्ताले हालै एक ठाउँमा महँगोमा बिजुली किनेर उद्योगहरुलाई जोगाउन सक्दैनौँ भन्नुभयो। एउटा जिम्मेवार व्यक्तिले त्यस्तो स्टेटमेन्ट दिनसक्छ? यो सारै नै दुःखलाग्दो कुरा हो।’

अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले अघोषित रुपमा १२ घण्टा र घोषित रुपमा १२ घण्टा लोडसेडिङ हुँदा उद्योगहरुले ठूलो नोक्सानी बेहोर्नुपरेको बताए। 

उनले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार ७५० टनमात्र उत्पादन गर्न सकेको बताए। 

उनले उद्योगी व्यवसायीहरु लोडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०/१० रुपैयाँ मारमा रहेको बताए। उनले आवश्यकताअनुसार विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको बताए। 

विद्युत प्राधिकरणले बिना लोडसेडिङ विद्युत आपूर्ति गर्नुपर्ने उनको माग छ। विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्वजानकारी दिनुपर्नेमा उद्योगीहरुको जोड छ। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद टुंग्याउनुपर्ने बताए। 

उनले लोडसेडिङको बाइप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको बताए। उद्योगहरुको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको उल्लेख गर्दै उनले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताए। उद्योगी व्यवसायीहरु अन्याय नगर्ने र अन्यायको विरुद्धमा डटेर लड्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.