|
फाइल तस्वीर

काठमाडौँ : नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एसीसी परियोजनालाई अमेरिकाले निरन्तरता दिने भएको छ। शनिवार यसबारेमा सूचना जारी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। 

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) सहयोगको कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको हो।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति ट्रम्पका दक्षिण र मध्य एशियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिलसँग हालै नयाँ दिल्लीमा भएको भेटमा नेपाललाई अमेरिकाले दिँदै आएको एमसीसीलगायत परियोजनालाई निरन्तरता दिन आग्रह गरेकी थिइन्।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगका लागि त्यहाँ आएकी गिलसँग मन्त्री डा राणाले चैत ५ गते भेटवार्ता गरी सो आग्रह गरेकी थिइन्। 

भेटमा मन्त्री डा राणाले नेपाललाई सहयोग पुर्‍याउने सडक एवं जलविद्युत पूर्वाधार परियोजनाका रुपमा भर्खरै निर्माण शुरु भएको एमसीसी परियोजना रोकिन पुगेकाले यसलाई निरन्तरता दिनेबारे पुनर्विचार गरिदिन उनले आग्रह गरेकी थिइन्। 

उनको आग्रहमा सुरक्षा निर्देशक गिलले आफूले यस विषयमा पुनर्विचार गर्ने बताएकी थिइन्। उनले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिएकी थिइन्। 

त्यसलगत्तै शनिवारमात्र अमेरिकाले सो परियोजनालाई निरन्तरता दिनेगरी सूचना जारी गरेको छ। अब उक्त परियोजनाले नेपालमा निरन्तरता पाउने भएको हो। 

भेटकै क्रममा अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेको र परराष्ट्रमन्त्रीको पनि यो आग्रह भएकाले अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको हो। यससम्बन्धी सूचना एमसीए नेपालले प्रकाशन गरेर एमसीसी परियोजना नरोकिने जनाएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो। एमसीसीले गत फागुन २ मा सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.