काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आइतबार भएका खेलमा एपिएफ, त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले जित हात पारेका छन्।
रुपन्देहीको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनाएको थियो।
बसिर अहमदले १०४ बलमा छ चौकाको सहयोगमा ८६ रनको पालि खेलेपछि आर्मीको चुनौतीपूर्ण स्कोर बन्यो। आर्मीका लागि भीम सार्की (४४ रन), तृतराज दास (३१ रन), सोमपाल कामी (२८ रन) र कुशल मल्ल (१७ रन) बनाए। लुम्बिनीका लागि अजय चौहानले चार, कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालले एक-एक विकेट लिए।
लुम्बिनी लक्ष्य पछ्याउने क्रममा २७.१ ओभरमा ११२ रनमै समेटियो। स्पिनर साहब आलमले चार विकेट लिएर लुम्बिनीको पालि धराशायी बताए। यसै गरी नरेन साउदले दुई तथा सोमपाल, आकाश चन्द र बसिरले एक-एक विकेट लिएर आलमलाई उचित साथ दिँदा लुम्बिनीले कुनै पनि समय लक्ष्य पछ्याएको देखिएन। ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्ने बसिरले दुई क्याच पनि लिए।
किरणको दोस्रो शतक
किरण ठगुन्नाको शतकको सहयोगमा आइतबार सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा छैटौँ ब्याट्म्यानका रुपमा क्रिजमा अएका किरणले ९१ बलमा १२ चौका र चार छक्कासहित ११५ रनको सानदार पालि खेले। जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो।
किरणबाहेक आर्मीका तृतराजले मात्र यस प्रतियोगितामा शतक बनाएका छन्। किरणले ८ खेलमा ३३७ रन बनाएकाछन्। आर्मीका तृतराज चार रनले किरणभन्दा पछाडि छ्न।
किरणको शतकको सहयोगमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.४ ओभरमा अलआउट हुनुअघि २४२ रन बनाएको थियो। कोशी जवाफमा ४५.१ ओभरमा २११ रनमा अलआउट भयो।
एपिएफ विजयी
नेपाल एपिएफ क्लबले आइतबार गण्डकी प्रदेशलाई ३१ रनले हराएर फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपिएफ चार बल बाँकी छँदै २५८ रनमा अलआउट भएको थियो। गण्डकी जवाफमा आठ विकेटको क्षतिमा २२७ रनमा सीमित भयो।
फाइनल पुग्ने होड रोमाञ्चक
प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले सात खेलबाट शतप्रतिशत जितसहित १४ अङ्क बनाएर फाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेको छ। एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अङ्क छ। यसै गरी शीर्ष दुईमा पुगेर फाइनल खेल्ने होडमा एपिएफ पनि रहेको छ।
दुई खेल खेल्न बाँकी छँदा एपिएफको १० अङ्क रहेको छ। अब एपिएफलाई फाइनलमा स्थान बनाउन बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ। र, आर्मी पराजित हुनुपर्ने हुन्छ।
प्रतियोगिता अन्तरगत आज गण्डकी र मधेश, एपीएफ र लुम्बिनी तथा बागमती र कोशीबीच खेल हुनेछ। शीर्ष स्थानका दुई टोलीबीच फाइनल खेल आगामी शनिबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।