काठमाडौं : अभिनेतृ मनिषा कोइरालाले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छिन्।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा सम्पन्न ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले फेरि नेपाली चलचित्रमा काम गर्न चाहेको बताइन्।
‘पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालीरहेकी छु’, उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ।’ विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने बताइन्।
आफूले शुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेको भन्दै उनले खुशी व्यक्त गरिन्। ‘मैले शुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन्। म निकै खुशी छु’, उनले भनिन्, ‘अहिले कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेको छ।’
नेपालमा ‘फेरि भेटौँला’मार्फत ‘डेब्यू’ गरेपछि कोइराला बलिउड प्रवेश गरेकी थिइन्। पछि ‘धर्मा’मा पनि अभिनय गरेकी थिइन्।
उनले अभिनय गरेको पछिल्लो भारतीय वेब सिरिज ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्यो। निर्देशक सञ्जय लीला भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको कोइरालाले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।