|

इलाम : इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पुनर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ। वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएकोमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्।
 

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन्। स्थानीय अँधेरीखोलाबाट ८९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं. १० का अध्यक्ष दिलीप प्रधानले जानकारी दिए। उनका अनुसार आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।

पानी अभावमा खेत बाँझै राखेर बस्न बाध्य भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए। स्वीडेन सरकारको १२ लाख ५८ हजार, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको रु आठ लाख ३८ हजारका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजारको साझेदारीमाआयोजना पुनर्निर्माण गरिएको हो। 

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन्। ‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ’, सचिव समालले भनिन्, ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ।’

अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन्। सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले जानकारी दिए। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष १० हजार ३४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ। इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातको धानखेती गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.