उत्पादन लागतअनुसार मूल्य नपाउँदा मारमा

|

काठमाडौँ : दक्षिण एसियाली मुलुकहरूमा कृषि मजदुर, सिमान्तकृत किसान, साना किसान र भूमिहीन किसानका लागि कृषि कर्म गर्न जमिन, उत्पादनका आवश्यक स्रोत साधनको कमी साझा समस्या बनेको छ। 

किसानहरूले उत्पादन गरेका उपजको उचित मूल्य नपाउने, रासायनिक मल, विषादी, उन्नत जातका बिउविजन, कृषि पूर्वाधार, मेसिनरी पार्टपुर्जा एवं उपकरण, सिँचाइ जस्ता कृषि औजारको अभाव एशियाली मुलुकका किसानहरूले भोग्दै आएका समान समस्या हुन्।

समयमै कृषि औजारहरूको अभावका कारण अत्यधिक मूल्य तिर्नुपर्दा लागत धेरै हुने र उचित मूल्य नपाउँदा किसानहरू मारमा परेको किसान प्रतिनिधिहरु बताउँछन्।

‘यसका अतिरिक्त प्रविधिमा किसानको पहुँच पुग्न सकेको छैन जसले अपेक्षित उत्पादन वृद्धि हुन सकेन, यस्तैगरी वीमा, सहुलियत दरका कृषि कर्जा, किसानहरुको सामाजिक सुरक्षाका मुद्दाहरु दक्षिण एशियाली क्षेत्रको साझा समस्याका रुपमा देखिएको छ,’ अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले भने। 

किसानका समस्याको आयतन देशअनुसार घटबढ हुनसक्ने तर जमिनलगायतका समस्या उस्तै रहेको उनले बताए। दंगालका अनुसार भूमिमा किसानको पहुँचका सन्दर्भमा सबैभन्दा धेरै समस्या पाकिस्तानमा देखिएको छ, जहाँ १५ प्रतिशत जमिनमात्र किसानको हातमा रहेको पाइएको छ। 

दक्षिण एशियाली किसान महासंघ निर्वाचित

यसैबीच, दक्षिण एशियाली मुलुकका किसानहरुको समस्या समाधानका लागि पहल गर्दै कृषिमा रुपान्तरण गर्न यस क्षेत्रका किसानहरू एक ठाउँमा भेला भएका छन्। 

काठमाडौँमा सम्पन्न दुईदिने (चैत ७–८ गते) दक्षिण एशियाली किसान मञ्चको पाँचौँ सम्मेलनले दक्षिण एशियाली देशमा रहेका कृषि, कृषक, श्रमिक, गरिब तथा आम श्रमजीवीका साझा समस्या समाधान गर्न २४ बुँदे ‘काठमाडौँ घोषणापत्र’ पारित गर्दै १७ सदस्यीय दक्षिण एशियाली किसान महासंघ निर्वाचित गरेको छ। 

अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा गठित महासंघको उपाध्यक्षमा भारतका रवुला रवुला वेंकैया, बङ्गलादेशका निमाईचन्द गाङ्गुली‚ पाकिस्तानका राबिता कमिटीका तारिक महमूदस् रहेका छन् भने महासचिव भारतका पुरुषोत्तम शर्मा, सचिव भारतका पी. भी. सुन्दरा रामाराजु, बङ्गलादेशका बद्रुल आलम, नेशनल फिशरिज सोलिडारिटी अर्गनाइजेशनकी सुवासिनी दिपा कमलनाथन छन्। 

दक्षिण एशियाली मुलुकमा रहेका किसानका हक–अधिकार स्थापित गर्न तथा कृषि क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना र रणनीति तर्जुमा गरिएको छ। रणनीति तथा कार्य योजनाको प्रभावकारी कार्यान्वयन गरेर आम किसानको अवस्थामा सुधार ल्याउन पहल गर्ने गरि महासंघ गठन गरिएको अध्यक्ष दंगालले बताए। 

कृषि प्रणाली सच्याउनुपर्ने

‘खाद्य सम्प्रभूताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता’ भन्ने संकल्पसहित सम्मेलन भएको थियो। 

रासायनिक मल, विषादीको प्रयोगले यस क्षेत्रका माटो र वातावरण ध्वस्त पारेको निष्कर्षसहित विद्यमान कृषि प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिइएको छ भने अर्गानिक एवं प्राङ्गारिक, पर्यावरणीय खेती प्रणालीमा जानुपर्ने आवाज उठाइएको अध्यक्ष दंगाल बताउँछन्।

महासंघले किसानका लागि आवश्यक प्रशिक्षण, रासायनिक मलको सट्टा प्राङ्गारिक मलमा अनुदान, राज्यका नीति परिवर्तनका लागि आवाज उठाउने महासंघको उद्देश्य रहेको उनले बताए। 

सम्मेलनमा सहभागी किसान प्रतिनिधि, विज्ञ एवं विशेषज्ञहरूले संकल्प हासिल गर्न किसान आन्दोलनलाई अझै विस्तारित एवं परिणाममुखी बनाउन थप सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित मुलुकको कृषि र किसानको अवस्थाका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएको सम्मेलनमा किसानका मुद्दालाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा उठाएर किसानमैत्री नीति तथा योजना तर्जुमा गरी त्यसको कार्यान्वयनमा पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ।

सम्मेलनले दक्षिण एशियाली किसान मञ्चलाई दक्षिण एशियाली किसान फेडरेशनमा रुपान्तरण गर्ने निर्णयसमेत लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.