बिर्तामोड : झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन्।
स्थानीय ४० वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरी आत्महत्या प्रयास गरेका हुन्। उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए।
घरमालिक भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले जानकारी दिए।
सोमबार राति श्रीमान श्रीमती झगडा गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमानले समेत आफ्नो घाटी रेटेर आत्महत्या प्रयास गरेका थिए। तर उनको मृत्यु नभएपछि आफैँले मङ्गलबार बिहान ४ बजेतिर छिमेकीलाई फोन गरेर श्रीमती मरेको बताएपछि गाउँलेले जनप्रनिनिधि र प्रहरीलाई खबर गरेको कनकाई नगरपालिका ५ का वडासदस्य डिल्लु उप्रेतीले बताए।
बिहान जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुग्दा श्रीमान लालबहादुर ओछ्यानमै घाइते अवस्थामा सुतिरहेको र श्रीमती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। हाल श्रीमानलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
घाइते श्रीमानले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।