|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ६२ आंगिक क्याम्पसमध्ये ४७ वटा आंगिक क्याम्पसमा मात्र यो पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ। विवादले बाँकी क्याम्पसहरूमा निर्वाचन हुन सकेन।

निर्वाचनका लागि तोकिएको समय पनि सकिएको छ। त्रिविले देशभरका त्रिवि आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन तोकेको थियो।

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार त्रिविका देशभरका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको थियो।

त्यहीअनुसार तोकिएको समयमा केही क्याम्पसहरूमा स्ववियु निर्वाचन भयो तर विभिन्न कारणले त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमै निर्वाचन हुन सकेन। त्यसपछि त्रिविले यी बाँकी क्याम्पसहरूमा निर्वाचन गर्न चैत २० गतेसम्म समय दिएको थियो।

उक्त समयसम्ममा ४७ वटा आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिए।

उनले भने, ‘यसपालि ४७ वटा आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन भयो, बाँकी क्याम्पसहरूमा विवादका कारण भएन, अब अर्को पटकमात्र हुन्छ, यो पटकका लागि स्ववियु निर्वाचन बन्द भयो।’

कहाँका, कति कलेजमा भएन निर्वाचन?

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन।

यस्तै उपत्यकाबाहिरका ८ वटा गरी १५ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन नसकेको उनले जानकारी दिए।

त्रिविका १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् तर त्रिविले क्याम्पस सञ्चालनका लागि सम्बन्धन दिए पनि निर्वाचनबारेको तथ्यांक भने राखेको छैन।

‘अदालतले गर्नू भन्यो भने निर्वाचन हुन्छ, नभए हुँदैन’

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. अधिकारीले यदि अदालतले निर्वाचन गराउन आदेश दिएमा मात्र रोकिएका क्याम्पसमा निर्वाचन हुने बताए।

‘यो पटकको निर्वाचन हुने समय सकियो, अब हुँदैन,यदि अदालतले गर्नू भनेमा मात्र हुन्छ, नभए अबदेखि क्याम्पसहरूमा निर्वाचन हुँदैन, अर्को पटक अर्थात् दुई वर्षपछि मात्रै हुन्छ,’ उनले भने।

प्रत्येक २/२ वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने व्यवस्था छ तर उक्त निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचनपछि एकैपटक २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभर नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो।

त्यतिवेला नौ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। यस पटक पनि सबै आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेन। त्रिवि कार्यकारी परिषद्‍ले यो स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद लगाएको थियो। विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था स्ववियु हो।

स्ववियु निर्वाचन क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै महत्त्वको हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र विद्यार्थीको हक–अधिकारलाई बुलन्द बनाउँछ।

तर पछिल्लो समय विद्यार्थी संगठनहरू नै नमिल्दा सबै क्याम्पसहरूमा निर्वाचन हुन सकेन। जसकारण विद्यार्थीहरू आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.