काठमाडौँ : चालू आर्थिक वर्ष २०८१।८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर रु. १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ रहेको छ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ। त्यसैगरी समीक्षा अवधिमा चालू खाता रु. एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ। यो अवधिमा रु. आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ। गत फागुन मसान्तसम्म शोधनान्तर स्थिति रु. तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो। गत असार मसान्तमा रु. २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई रु. २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्रबैंकमा रहेको सञ्चिति रु. २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु. दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ।
चालू आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।