|

खोटाङ  ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ शुरु भएको छ ।

महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले गरे। महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा-थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। ‘किराँत उद्गमस्थल तुवाचुङ-जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरे भञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ । 

नगरप्रमुख भट्टराईले भने, ‘महोत्सवले नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ । ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को प्रवर्द्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ।

दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन्।

विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.