शिक्षकहरू भन्छन्- गतिविधि हेर्दा सरकार शिक्षा क्षेत्रलाई ध्वस्त पार्न चाहन्छ

|

काठमाडौं : विद्यार्थी आफूले पाएको सफलतामा केही थान मिठाई बाँडिरहेका भेटिन सक्थे। आफ्ना सन्तानले नयाँ कक्षामा फड्को मारेको देख्दा सन्तानको पढाइका लागि गरेको दु:खलाई भुलेर केही दिन भए पनि अभिभावकहरू सन्तोषले निदाउन सक्थे।

 विद्यार्थीहरूको सफलता देखेर शिक्षक शिक्षिकाहरू खुसियाली मनाउन सक्थे। कक्षा कोठा र  नयाँ पाठ्यपुस्तकले विद्यार्थीहरूलाई स्वागत गर्न सक्थे।

 यदि समयमै राज्य गम्भीर भएर शिक्षा क्षेत्रको हित सोचिदिएको भए…

​ तर,  २०८१ अन्त्य र नयाँ वर्षको सुरुवातमा विद्यालय परिसर र समाजमा देखिने यस्ता सुन्दर र मीठा दृश्य देखा परेनन्।  यतिबेला देशभरका सामुदायिक तथा सरकारी विद्यालयहरू सुनसान छन्। विद्यार्थीहरू, अभिभावकहरू र स्वंय शिक्षकहरू एक किसिमको नैराश्यतामा बाँचिरहेका छन्।  विगत १४ दिनदेखि लगातार रूपमा देशभरका शिक्षकहरू सरकारले आफू र आफ्नो पेसालाई अपमान गरेको भन्दै काठमाडौं केन्द्रित सडक प्रदर्शनमा छन्।

शिक्षकहरूसँग यसअगाडि सरकारले गरेको सहमति कार्यान्वयन र शिक्षा विधेयकमा सरकार गम्भीर नहुँदा विद्यार्थी, तीनका अभिभावक र सिंगो देशलाई प्रभाव पारिरहेको छ।

हरेक दिन शिक्षकहरू आफूहरूसँग गरेको सहमति सम्झाउँदै माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। हरेक दिन यसक्षेत्रमा सवारी आवागमन ठप्प हुँदा धेरै नागरिकहरूले शिक्षकहरूको मागबारे परिचित बनिसकेका छन्।

तर, सरकार भने शिक्षकहरूको प्रदर्शनलाई नजरअन्दाज गरिरहेको छ। उनीहरूका मागलाई सम्बोधन गर्न प्रतिपक्ष दलदेखि सत्तारूढ दलका नेताहरूले सरकारसँग आग्रह गरिरहेका छन्।

शिक्षकहरूका माग सम्बोधन नभए विद्यार्थीहरूको भविष्य अन्योलग्रस्त हुने चिन्ता चौतर्फी भइरहेको छ। शिक्षकको माग सम्बोधन गर्न संवादको ढोका खोल्न सरकार किन तयार भइरहेको छैन? आम चासो र चिन्ताको विषय बनेको छ।

बितेको १३ दिन शिक्षकहरूले सडकमै प्रदर्शन गरेर बिताए। आज मंगलबार प्रदर्शनको १४ औँ दिन हो। शिक्षकहरू माइतीघर मण्डलाबाट ब्यानरसहित तिनै नारा घन्काउँदै बानेश्वरतर्फ लागे।

बबरमहलमा वैशाखी टेकेर अगाडि बढिरहेका शिक्षक भेटिए। उनी अर्थात् डिल्लीराम पौडेल। उनीअरू शिक्षकहरूले जस्तै हुलमा बसेर प्रदर्शन गर्न सक्दैनन्। कारण-उनका बायाँ खुट्टा नचल्ने भएपछि वैशाखीको साहारामा हिँड्डुल गर्छन्।

त्यसो त उनी छेउछेउ,भिड नहुने ठाउँबाट वैशाखीको सहारामा प्रदर्शनमा सरिक हुन्छन्,भइरहेका छन्। यसरी अनेकन समस्या झेलेरै भए पनि शिक्षक प्रदर्शनमा आउन बाध्य भए उनी। पौडेल दैलेखको भैरवी गाउँपालिका वडा-७ का मेरा आधारभूत विद्यालयका स्थायी शिक्षक हुन्।

उनी थाहाखबरसँग भन्छन्,‘सरकारले बेवास्ता गर्‍यो,त्यही भएर म पनि यहाँ आउन बाध्य भए,अझै कति दिन दु:ख दिन्छौँ सरकार,हाम्रो माग पूरा गरियोस्।’

तीन वर्षकै उमेर हुँदादेखि उनका खुट्टा चल्न छोडेको हो र पनि विद्यार्थीहरूको भविष्य कोर्नमा तल्लीन छन्। तर,राज्यले शिक्षकहरूलाई बेवास्ता गरेको उनको गुनासो छ।

‘ऋण मागेर अहिले प्रदर्शनमा छौँ,गरिरहेका छौँ,’उनले भने,‘खानपिनको समस्या छ,यो कुरा सरकारले सुनिदिनुपर्छ। तत्काल हाम्रो माग पूरा गरियोस्।’

गत चैत २० गतेबाट सुरु भएको शिक्षक प्रदर्शनमा कोही बालबच्चा च्यापेर सहभागी भएका छन्। मकवानपुर बकैया गाउँपालिकाको शंकर आधारभूत विद्यालयका स्थायी शिक्षिका शर्मिला तामाङ आफ्नो दुईवर्षे छोरी बोक्दै प्रदर्शनमा भेटिइन्।

‘घरमा हेर्ने मान्छे छैन,त्यही भएर बच्चालाई नै लिएर प्रदर्शनमा आएकी हुँ। यस्ता धेरै हाम्रा दु:खहरू छन्,तर सरकारले दु:ख मात्रै दियो,हाम्रो कुरा सुनिदिएन,’उनले भनिन्।

तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग उनले राखिन्। हरेक दिन काठमाडौं केन्द्रित सडक प्रदर्शन हुँदा आफूहरूको आर्थिक अवस्था पनि नाजुक हुँदै गएको बताउँछन् प्रदर्शनमा भेटिएका शिक्षक उपेन्द्रराज काफ्ले।

रौतहटको जनज्योति माध्यमिक विद्यालयका शिक्षक काफ्ले भन्छन्,‘बस्न,खाना सबै गर्दा दिनकै १५ सय खर्च हुन्छ। अहिलेसम्म २१ हजारभन्दा बढी खर्च भइसक्यो। ऋण लिएर प्रदर्शन गरिरहेको छु। तर खै किन हो सरकारले हाम्रो माग,आवाजलाई हालसम्म पनि सुनिदिएन।’

सरकार शिक्षा क्षेत्रलाई ध्वस्त पार्न लागेको उनको भनाइ छ। ‘यत्तिका दिन भइसक्यो,शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ। तर सरकारले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनेतर्फ लागेन,झुटको खेतीमा मात्रै लागेको छ। हामीलाई जति नै ‘ऋण लागे पनि,दु:ख,कष्ट भोगे पनि प्रदर्शन रोक्दैनौँ,कि जितिन्छ कि बितिन्छ,’उनी भन्छन्।

यो प्रदर्शनमा शिक्षकहरू मात्रै होइन। विद्यालय शिक्षक कर्मचारीहरू पनि सहभागी छन्। चितवनबाट आएका देवीलाल श्रेष्ठ विद्यालय कर्मचारी हुन्।

 उनले पनि शिक्षा ऐन जारी गर्नको लागि सरकारलाई दबाब दिन काठमाडौंको यो प्रदर्शनमा आएको बताउँछन्। तर,यसरी दिनहुँ प्रदर्शन गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको उनी बताउँछन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा हाल देशभरका शिक्षकहरू प्रदर्शन गरिरहेका छन्। महासंघले माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका परीक्षण,कक्षा १२ को परीक्षालगायत कार्यमा सहभागी नहुन शिक्षकहरूलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राज्य गम्भीर रूपले यसलाई नलिएको भन्दै थप प्रदर्शन चर्काउने तयारी गरेको बताए।

उनले भने,‘बारम्बार शिक्षक प्रदर्शन भए। सहमति भए। तर, ती सहमति सहितको शिक्षा ऐन सरकारले जारी गरेन,त्यसैले पढाउने,भर्ना गर्ने बेला शिक्षकहरू यसरी सडकमा आएका हुन्,यो हाम्रो बाध्यता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.