संखुवासभा : शिक्षक आन्दोलनका कारण संखुवासभा जिल्लामा विद्यार्थी भर्ना र पाठ्य पुस्तक वितरण प्रभावित भएको छ। शिक्षक आन्दोलनका कारण जिल्लाका १० वटै स्थानीय तहका ७३ वटा माध्यमिक सहित ३८५ विद्यालयमा पठनपाठन विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण प्रभावित भएको हो।
शिक्षक आन्दोलनका कारण केही विद्यालय सञ्चालन रहे पनि विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण प्रभावित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गोपालमान भण्डारीले जानकारी दिए। आन्दोलनका कारण जिल्लाका १० वटै स्थानीय तहका विद्यालय ठप्प भएको अभिभावकको भनाइ छ।
यता खाँदबारी नगरपालिकाले नगरपालिकाभित्र कुनै पनि विद्यालय बन्द नरहेको दावी गरेको छ। खाँदबारी नगरपालिकामा सार्वजनिक बिदाबाहेक अन्य दिन विद्यालय सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले बताए। नगरपालिकाले विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई पत्राचार गरेको शिक्षा शाखा प्रमुख घिमिरेले बताए।
पाठ्यपुस्तकको रकम ७५ प्रतिशत निकासा भइसकेकाले पाठ्यपुस्तक समयमा खरिद तथा वितरणलाई उच्च प्राथमिकतामा राखेर बालबालिकाको हातमा पुस्तक उपलब्ध गराउन निर्देशन जारी गरेको छ। उता खाँदबारी नगरपालिकाभित्रका २३ वटा विद्यालयले संयुक्त विज्ञप्ति जारी गर्दै २०८१ चैत २० गते देखिको आन्दोलनमा समर्थन जनाएका छन्।
उनीहरूले नगरपालिकाभित्रका सबै विद्यालयमा भर्ना लगायत कुनै किसिमका गतिविधि सञ्चालन नगर्ने विज्ञप्तिमा भनिएको छ। जिल्लामा गत वर्ष २० हजार ३६९ छात्र र १९ हजार ४१३ छात्रा गरी ३९ हजार ८०९ जना विद्यार्थी भर्ना भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।