|

तुलसीपुर : तीन वर्षदेखि सडक निर्माण नभएपछि तुलसीपुरका बासिन्दा आन्दोलित भएका छन्। तुलसीपुर उपमहानगर-५ पीपलबोट, रानीजरुवा हुँदै जाने गोठीखोला जाने सडक अलपत्र हुँदा धुलो र हिलोका कारण सास्ती भोगेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।

तुलसीपुर-५ प्रगतिनगर टोलकी तिरुना शाहीले सडकका कारण आफूहरूले निकै सास्ती भोगेको भन्दै बाध्य भएर सडकमा आन्दोलन गर्न आएको बताइन्।

 
उनले भनिन्, ‘विगत ३ वर्षदेखि हामीले हिलो, धुलोको पीडा भोग्दै आएका छौँ। पहिला यहाँको सडक राम्रो थियो तर अहिले ठूलो बनाउने भनेर ३ वर्षअघि सबै सडक भत्काएर अहिले अलपत्र हुँदा स्थानीयले निकै समस्या भोगेका छौँ।’ यस्तै उनले सडक निर्माणका लागि पटक पटक आग्रह गरे पनि अहिलेसम्म न स्थानीय सरकारले सुनेको छ, न प्रदेश र सङ्घीय सरकारले नै सुनेको छ, जसका कारण बाध्य भएर सडकमा आउनु परेको गुनासो गरिन्।

 
यस्तै सोही ठाउँकी रेश्मा कार्कीले पनि सडकमा स–साना गिट्टीहरू हुँदा अटो तथा मोटरसाइकल तीव्र गतिमा चलाउँदा ढुंगा उछिट्टिएर पसलका सिसा फुट्नुका साथै मानिसहरू चोट लाग्ने गरेको भन्दै तत्काल सडक निर्माण गरिदिन आग्रह गरिन्। उनले पनि सडकमा पानी परेको वेला हिलो र घाम लागेको बेला धुलो हुँदा आफूहरू निकै पीडामा रहेको गुनासो गरिन्।

उनले भने, ‘यदि सडक यस्तै गराउनु नै थियो भने किन पहिलेको राम्रो सडक भत्काउनु। हामीले सडक चौडा हुन्छ भनेर आफ्ना घरहरू भत्काएका थियौँ। तर ३ वर्षसम्म पनि सडक बन्न नसक्नु भनेको कारण के हो ?’

यस्तै अर्का स्थानीय अतिराम विष्टले आफूहरू बाध्य भएर सडकमा आन्दोलन गर्न आएको भन्दै सम्बन्धित निकायले गम्भीर भएर सोच्न आग्रह गरे। लामो समयसम्म सडक नबन्दा आफूहरूले निकै सास्ती पाएको र यसका लागि पटक पटक सम्बन्धित निकायले आग्रह गरे पनि अहिलेसम्म नबनाएर लापरबाही गरेको उनले आरोप लगाए। उनले आजको आन्दोलनलाई सामान्य रूपमा लिए कडा रूपमा उत्रिने चेतावनी समेत दिए।

बुधबार पहिलो दिन आँखामा कालोपट्टी बाँधेर तुलसीपुर बसपार्क नजिकै पीपलपोटमा एक घन्टा सडक चक्काजाम गरिएको थियो। सडकका केराको बोट रोप्दै उनीहरूले तत्काल सडक निर्माण अगाडि बढाउन आग्रह गरेका छन्। यस्तै स्थानीयहरूको आन्दोलनलाई तुलसीपुर-५ का वडाध्यक्षले पनि समर्थन जनाएका छन्।

यो सडक निर्माणका लागि वडाले पहल गरे पनि अहिलेसम्म सुनुवाइ नभएको भन्दै स्थानीयहरूको मागलाई २४ घन्टाभित्र सम्बोधन गर्न उनले आग्रह गरे।

उनले भने, ‘प्रदेश सरकारको मातहतमा रहेको सडक पूर्वाधार कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत अहिलेसम्म सुनुवाइ भएन। हामी जनप्रतिनिधिले भनेको कुराको त सुनुवाइ हुँदैन, अनि नागरिकहरूका कुरा कसले सुन्छ, होला। यो सडकका कारण यहाँका नागरिकहरूले निकै समस्या भोगेका छन्। जसका कारण उनीहरू आज सडकमा आएका हुन्छ। यसमा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्छ।’

करिब ८ सय मिटर लम्बाइ रहेको पीपलबोट–रानीजरुवा सडक लुम्बिनी प्रदेश सरकारले ३ वर्षअघि निर्माण सुरु गरे पनि हालसम्म नबनाएको स्थानीयहरूको आरोप छ।

बहुवर्षीय आयोजना बनाउँदै

सडक पूर्वाधार विकास कार्यालय दाङमा प्रमुख मनीषकुमार अर्यालका अनुसार यो आर्थिक वर्षमा गोटीखोलादेखि श्रीकुलोसम्म बनाउन डेढ करोड बजेट आएको छ।

यस आयोजनालाई मन्त्रालयस्तरबाट यो आयोजना जस्तै ९ वटा आयोजना रहेको र यो बजेटबाट टेन्डर आह्वान नगरेर बहुवर्षीय स्वीकृत गरेर ठूलो आयोजनाको रूपमा ठेक्का लगाउने भन्ने भर्खरै निर्देशन भएको समेत उनले बताए।

 
उनका अनुसार यो वहुवर्षीयमा आयोजनामा स्वीकृत भएपछि करिब १० करोडको ठेक्का लाग्ने हुँदा त्यसै अनुसार राखिएको छ। यो आयोजनाको बहुवर्षीय आयोजनामा लैजान मन्त्रालयले भनेपछि आफूहरूले प्रस्ताव पेश गरेको समेत उनले बताए। यस्तै उनले मन्त्रालयबाट निर्णय भएर काम अगाडि बढाउन निर्देशन आएपछि टेन्डर आह्वान गर्ने समेत बताए।

उनले भने, ‘हामी टेन्डर आह्वान गर्छौं तर यो आर्थिक वर्षको समय सकिँदै छ। यो वर्ष निर्माण कम्पनीसँग सम्झौता भएर ५-१० प्रतिशत पेश्की जानसक्छ। त्योभन्दा बढी यो वर्ष काम हुने सम्भावना कम छ। अर्को आर्थिक वर्षमा हामी जोडतोडले काम गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.