काठमाडौं : देशभरका शिक्षक/कर्मचारीहरू १७ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ तत्काल जारी गर्नुपर्ने माग राखेर चैत २० गतेदेखि थालेको उनीहरूको आन्दोलन आज पनि कायम छ। उनीहरूले आज(शुक्रबार) पनि आन्दोलन गरे।
निरन्तर शिक्षक आन्दोलन भएपछि सरकारले गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल शिक्षा विधेयक जारी गर्न संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गर्दै आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो।
उक्त निर्णयले केही राहत शिक्षकहरूले पाएका थिए। तर सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएपछि शिक्षकहरू बिच्किएका छन्। तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने उनीहरूका माग छन्। तर,शिक्षकहरूको मागअनुसार तत्काल जारी गर्न सम्भावना नरहेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जनाएको छ।
समितिकी सदस्य ईश्वरी घर्तीका अनुसार जम्मा शिक्षा विधेयकमा १६३ दफा छन्। जसमध्ये हालसम्म ९६ दफामा दफाबार छलफल सकिएको छ। यसमा ७६ दफामा सहमति जुटेको छ। २० वटा दफा छलफलकै क्रममा छन्। यी २० वटा दफामाथिको छलफल सकिएपछि अन्य दफामाथि छलफल हुने उनले जानकारी दिइन्।
शिक्षा समितिले चैत ८ गते उक्त दफामाथि छलफल गरेर सहमति जुटाउन प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त समितिले चैत १८ गतेदेखि आफ्नो काम अगाडि बढाएको उनको भनाइ छ। समितिकी सदस्य घर्तीका अनुसार समितिलाई ३५ दिनको समयसीमा दिइएको छ।
‘वैशाख २१ गतेसम्म समयसीमा छ, आजका दिनले अब १७ दिन बाँकी छ,यो समयसम्ममा जति दफा बाँकी छन, सबै छलफल सकिने विश्वास छ,अहिले तीव्र गतिमा समितिले छलफल गरेको छ,विदाको दिनमा पनि छलफल चलेको छ,’उनले थाहाखबरसँग भनिन्।
वर्षौंदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसद्बाट पारित भई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो। तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको एक वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्याउन सकेको छैन।
के वैशाख १५ अघि नै संसदमा विधेयक पेस हुन्छ ?
सरकारले शिक्षा विधेयक जारी गर्न संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गरेको छ। त्यसलगत्तै अर्थात् वैशाख १५ अघि नै शिक्षा विधेयक संसदमा पेस हुने शिक्षकहरूले अपेक्षा लिएका छन्। तर,उक्त समयभित्र पेस हुने सम्भावना नरहेको समितिले जनाएको छ।
झनै सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेटसम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका छन्। तर,यस अधिवेशनमा शिक्षा विधेयक पनि पेस गर्न सकिने समितिकी सदस्य घर्तीले जानकारी दिइन्।
उनले भनिन्,‘अबको अधिवेशन खास बजेट केन्द्रित हुने हो,तर यो बेला शिक्षा विधेयकको पनि काम अघि बढ्छ, पेस गर्न सकिन्छ, पहिला पनि भएको उदाहरण छन्।’ तर,यसका लागि शिक्षकहरूले समितिलाई काम गर्नको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उनको आग्रह छ।
‘सबै भन्दा बढी यो विधेयकमा १५२ जना सांसदहरूले १७६५ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ,’उनले भनिन्,‘उहाँहरू सबैलाई बोलाएर छलफल गरिसकेका छौँ,त्यसैले छलफल गर्न समय लाग्छ,अहिले तीव्र रूपमा यो काम भइरहेको छ,वैशाख २१ गतेसम्म(समयसीमा)मा हामीलाई काम गर्ने वातावरण दिनुपर्छ,जस्ताको त्यस्तै विधेयक पेश गरियो भने त्यो राम्रो हुँदैन,बरू शिक्षकहरूले वैशाख २१ गते नै उपसमितिले काम सकोस्, अनि एक हप्ताभित्र संसदमा पेस गरोस् भन्ने माग राखेर दबाब दिनुपर्छ।’
उनका भनाइअनुसार उपसमितिले वैशाख २१ गतेभित्रमा बाँकी दफामा छलफल गरि सहमतिमा पुगिने छ। त्यसपछि सबै प्रकृया पूरा गर्न बढीमा करिब एक हप्ता समय लाग्ने देखिन्छ। त्यसपछि संसदमा शिक्षा विधेयक पेस हुने छ।
शिक्षकको अडान : विधेयक नलगि जाँदैनौँ
यता,नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनरत शिक्षकहरू शिक्षा विधेयक हातमा नलगी विद्यालयमा नफर्किने अडान लिएका छन्। शिक्षकहरू यतिखेर शैक्षिक आम हडताल नै गरेर आन्दोलनमा छन्। जसकारण अहिले नयाँ भर्ना,माध्यमिक शिक्षा परीक्षा(एसइई)को उत्तरपुस्तिका परीक्षणको काम रोकिएको छ।
कक्षा १२ को परीक्षा पनि रोकिने सम्भावना बढ्दै गएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक जारी नभएसम्म यो आन्दोलन नरोकिने बताए। उनले भने,‘हामी विजयोन्मुख छौँ,हामी आन्दोलन जारी राख्छौँ,विधेयक हातमा परेपछि मात्रै हामी फर्किन्छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।