|

चितवन: प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन्। 

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताएका हुन्।

“देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ । तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सबै मिलेर देश बनाऔँ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईंहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’’

प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताए। प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.