काठमाडौँ : नेपाल शिक्षक महासंघका प्रतिनिधिले समय मिलेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले प्रधानमन्त्री ओलीले समय दिएमा आज साँझ भेट्न लागेको जानकारी दिए।
नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन्।
परिषद्का महासचिव योगीले भने, ‘प्रधानमन्त्रीज्यू अहिले चितवनमा हुनुहुन्छ, उहाँ आजै काठमाडौँ आउने नआउने जानकारी छैन, समय दिनुभयो भने भेट्ने भन्ने छ तर फिक्स छैन। अहिले चाहीँ हामी आन्दोलनको समीक्षा गरिरहेका छौँ।’
उनका अनुसार प्रधानमन्त्रीसँग भेट भएमा शिक्षकहरुका मागबारे जानकारी गराइनेछ।
यता, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने प्रधानमन्त्री ओलीलाई आज भेट्नेबारे कुनै जानकारी नभएको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।