काठमाडौं : कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा शैक्षिक मेला (कर्णाली एजुकेसन एक्स्पो) सम्पन्न भएको छ।
मेलामा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको भन्दै औपचारिक कार्यक्रम गरेर बहस मात्र गर्नुभन्दा ‘फिल्ड’मै गएर काम देखाउन जरुरी रहेको धारणा राखे। मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा नन्दबहादुर सिंहले कर्णालीमा शिक्षाका विषयमा बहस थालनी हुनु राम्रो भएको बताए।
मेलामा अहिलेसम्म अभ्यास गरिएको शिक्षा प्रणालीलाई बदल्न कर्णाली अब जाग्नुपर्ने, कर्णालीवासीको जीवनस्तर उकास्न प्रत्यक्ष सहयोग पुग्ने शिक्षा पाठ्यक्रमा समावेश गर्नुपर्ने र नेपाली भाषा, साहित्यको उदगम थलो प्राकृतिक, साँस्कृतिक रूपमा सम्पन्न कर्णालीको समृद्ध भविष्य पुनर्निर्माण गर्नुपर्नेबारे छलफल भयो।
यस्तै निर्धारित पाठ्यक्रम कतिको उपलब्धिपूर्ण छ, शिक्षा बदल्न के गर्नुपर्छ, कसरी सम्भव छ र कर्णालीले कस्तो किसिमको शिक्षा प्रणाली र पाठ्यक्रम अभ्यास गर्नुपर्छ भन्ने विषयमा समेत गहन छलफल गरियो।
कर्णाली विकास केन्द्रको आयोजनामा तीन दिन चलेको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता, अभ्यासकर्ता सहभागी भए। केन्द्रका अध्यक्ष नविन जैसीले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र सान्नी त्रिवेणी गाउँपालिका कालिकोटको सहकार्यमा एक्स्पो सफलतापूर्वक सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।