गौर : रौतहटको मौलापुर नगरपालिकाबाट अवैध रुपमा भित्र्याइएको १० लाख रुपैयाँसहित एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लास्थित कुन्डवा चैनपुर बजारनिवासी २३ वर्षीय राजकिशोर ठाकुर रहेका छन्।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक प्रवेश कार्कीको नेतृत्वमा खटिएको टोलीले आइतवार दिउँसो मौलापुर–६ स्थित पथराबुधराम क्षेत्रबाट ठाकुरलाई नियन्त्रणमा लिएको हो।
ठाकुर चढेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको जाँच गर्दा सिटमुनि लुकाइएको झोलाबाट उक्त रकम फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार रकमको स्रोत नखुलेको तथा औपचारिक कागजात प्रस्तुत गर्न नसकेको कारणले ठाकुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको छ।
एसपी घिमिरेले भने, “हामीले सशक्त रुपमा हुण्डी र तस्करी नियन्त्रण अभियान सञ्चालन गरिरहेका छौँ।’ पछिल्लो समयमा अवैध रुपमा सीमावर्ती क्षेत्रबाट भित्रिने नगद र अन्य तस्करीजन्य वस्तुहरू नियन्त्रण गर्ने प्रयास जारी रहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।