‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का कार्यवाहक संयोजक डा. जगमान गुरुङले मिति नै तोकेर राजतन्त्र फर्किने दावी गरे। शनिवार (वैशाख ६ गते) काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ज्योतिषी शैलीमा जेठ १५ गते गणतन्त्र अन्त्य भएर राजतन्त्र पुनःस्थापना हुने ठोकुवा गरेका छन्।
पछिल्लो प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि बनेको माहोल १५ चैतको हिंसात्मक आन्दोलनपछि सेलाएको छ। यसै त जनमत कमजोर भएका राजावादी दल तथा समूहहरू एजेन्डा उही भए पनि मिल्न सक्ने अवस्थामा छैनन्।
गणतन्त्रवादी दलहरू राजावादीहरूमाथि आक्रामक हुँदा आन्दोलन नै तुहिएको आमबुझाइ छ। आखिर यस्तो अवस्थामा गुरुङले के आधारमा मिति नै राजतन्त्र पुनःस्थापना हुने दावी गरे?
केही दिनअघिमात्रै राप्रपा नेताहरूलाई निर्मलनिवास बोलाएर पूर्वराजा शाहले आन्दोलनको नेतृत्व लिनसमेत आग्रह गरेको बताइन्छ। हिजो पूर्वराजाकै निर्देशनमा बनेको भनिएको संयुक्त जनआन्दोलन समितिको औचित्य समाप्त भएको हो? समग्रमा राजावादी आन्दोलन कसरी अघि बढ्छ?
यिनै प्रश्न ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का कावा संयोजक डा. गुरुङलाई सोधिएको छ। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः–
तपाईँले जेठ १५ मा राजतन्त्र पुनःस्थापना हुन्छ भनेर के आधारमा भन्नुभयो?
- मैले त त्यही दिन (वैशाख ६ गते) नै भनेको थिएँ। कुनै मान्छे मर्दा उसैको जन्म महिना, जन्म वार, जन्म तिथि र जन्म नक्षत्रमा मर्ने भनिन्छ। गणतन्त्रको घोषणा पनि जेठ १५ मा भएको हो। त्यसकारण त्यही दिन गणतन्त्र अन्य भएर राजतन्त्र पुनःस्थापना हुन्छ।
यो त परम्परागत मान्यतामात्र भयो। विज्ञान र तथ्यका आधारमा भन्नुस् न!
- गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठेकोमात्र छैन‚ यो क्रमशः बुलन्द हुँदै छ। जनाधार बलियो हुँदै गएको छ तर अहिले राज्यसत्ताको दमनका कारण मान्छे खुलेर नबोलेका मात्र हुन्।
नेताहरूले बहुदलमा अभिमत राख्न, बन्द हड्ताल गर्न, मसालजुलुस वा सभा गर्न पाइन्छ भनेर भन्छन्। संविधानले पनि त्यही भन्छ। तर संविधानप्रदत्त अधिकारसमेत नागरिकले उपभोग गर्न पाएका छैनन्।
अहिले हामीले हेर्यौँ भने गणतन्त्रवादी भन्ने नेताहरू जहाँ जान्छन्, त्यहाँ मान्छे हुँदैनन्, भएकाले उनीहरुविरुद्ध नाराबाजी गर्छन्। होइन भने जब नेताहरू राजाको कुरा काट्न थाल्छन्, अनि मान्छे उठेर हिँड्ने गरेका छन्।
त्यसकारण जनताको बलबाट राजा फर्किन्छन्। जेठ १ देखि नै जनमत प्रबल हुन्छ‚ १५ गतेसम्ममा अहिले चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा बोकेर जो आन्दोलनमा छन्, उनीहरूको अभीष्ट सिद्धि हुन्छ।
अझ खास कुरा के छ भने दलहरू र श्री ५ ज्ञानेन्द्रबीच उहिल्यै भद्र सहमति भइसकेको छ। ४७ सालको संविधान मान्ने, बहुदलीय प्रजातन्त्र मान्ने, नेपालमा राजतन्त्र अविछिन्न रुपमा रहने सहमति भएको छ।
अन्तिम तुरुप त्यहाँ छ, त्यो भद्र सहमति सबैको अगाडि पछार्ने हो भने राजा फर्कन कुनै नाराजलुसको आवश्यकता पर्दैन। तर त्यो सहमतिलाई अहिलेका नेताहरूले बिर्से। त्यो सहमति अब कार्यान्वयनमा आउनुपर्छ।
तपाईँले भनेजस्तै सहमति भएको रहेछ भने पनि त्यो दलहरुले मान्नेवाला छैनन्, जनमत छैन, कसरी फर्किन्छन् राजा?
- कुरा यसो छ, जनतालाई त अहिले सरकारले दबाएको हुनाले अभिमत व्यक्त गरेका छैनन्। राजाको पक्षमा ७५ प्रतिशत जनता छन्।
२५ प्रतिशत पार्टी र विभिन्न अभियानका, २५ प्रतिशत कांग्रेस, एमाले र माओवादीबाट वाक्कदिक्क भएर फर्किएका र बाँकी २५ प्रतिशत स्वःस्फूर्त राजा र धर्मप्रति श्रद्धा र विश्वासबाट आएकाहरू छन्। यसलाई सही ढंगले परिचालन गरिए अभियान सफल हुन्छ।
चैत १५ को आन्दोलनमा भएको हिंसापछि नेताहरू हिरासतमा छन्, दर्जनौँ आन्दोलनकारी पनि प्रहरी कष्टडीमै छन्। यससँगै अब राजावादी आन्दोलन नै तुहियो भन्ने चर्चा छ नि?
- तुहिएको छैन। अहिले पनि फुटकर आन्दोलनहरू भइरहेकै छन्। भित्रभित्रै भुसको आगोजस्तो सल्किएको छ। यो ज्वालाका रुपमा बाहिर निस्कनमात्र बाँकी छ।
‘संयुक्त जनआन्दोलन समिति’ले चाहिँ के गरिरहेको छ?
- समितिले बाहिर सडक आन्दोलन नगरे तापनि प्लानिङ र नेटवर्किङको काम गरिरहेको छ। हामी छिट्टै एक्सनमा जान्छौं।
एजेन्डा एउटै भए पनि राजावादीहरू एक हुन चाहिँ किन नसकेका?
- जब नवराज सुवेदीजीको नेतृत्वमा समिति बन्यो, त्यसमा केही नेताहरूले सहमति जनाएनन्, त्यसकारण मात्र यिनीहरूमा एकता रहेनछ भन्ने परेको हो। तर बाहिर देखिएको मात्र त्यस्तो हो‚ यथार्थमा त्यस्तो होइन।
अस्ति चैत २७ गते धुमबाराहीको स्मार्ट दरबारमा प्रतिबद्धता कार्यक्रम भयो। जहाँ केशरबहादुर विष्ट, कमल थापा आएर बोल्नुभयो। राप्रपाबाट लिङ्देन नआए पनि वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी आएर बोल्नुभयो। बिपी नेपालका सुशीलमान शेरचनले नभ्याएपछि कर्ण मल्ल, शिवसेनाबाट गंगा चौधरी आउनुभयो। हामी यसरी एक हुँदै छौँ, एउटै मञ्चमा आउँदै छौँ।
अब हामीले १३ गते राष्ट्र निर्माणमा नारीहरूको प्रतिबद्धता के छ भनेर कार्यक्रम गर्दै छौँ। यसमा पनि राजाको पक्षमा भएका सबै दल, संगठन र अभियानका महिलाहरू आउँदै हुनुहुन्छ।
यसैगरी हामी अवसर मिलाएर धार्मिक व्यक्तिहरूको पनि त्यस्तै कार्यक्रम गर्ने तयारीमा छौँ। अहिलेसम्म राजनीतिक व्यक्तिहरूमा केन्द्रित भइरहेका थियौँ। धार्मिक व्यक्तित्वहरू ओम नमः शिवाय मन्त्र जपेर मात्रै बस्नुभएको छ। उहाँहरू पनि अब शिव र नारायण होइन, नरसिंहको रुपमा अघि बढ्नुपर्छ। त्यसका लागि प्रयास भइरहेको छ।
पूर्वराजाले केही दिनअघि राप्रपा नेताहरूलाई भेटेर आन्दोलनको नेतृत्व लिनु भन्नुभयो। यसर्थ संयुक्त समितिको औचित्य समाप्त भएन?
- यसको औचित्य समाप्त भएको छैन। राप्रपाले नेतृत्व लिन नसक्ने भएर नै यो समिति बनेको हो। मैले त के भन्ने गरेको छु- पूर्वपञ्चहरूले राजा र धर्मको स्थापना गर्नै सक्दैनन्‚ किनभने यीनैको पालामा राजा गयो, धर्म गयो।
राप्रपाले सक्ने भए हाँकोस् न त! किन जगमान गुरुङ चाहियो, किन दुर्गा प्रसाईं चाहियो?
तर राप्रपाले किन सक्दैन भने उसको झण्डामुनि राष्ट्रिय झण्डा बोक्ने कोही मान्छे जाँदैन। अस्ति बल्खुको कार्ययक्रममा राप्रपाको झण्डा रहेछ भनेर कतिपय व्यक्तिहरू फर्केर आए। राप्रपाको नेटवर्किङ देशभर छ, इकाई छ भन्ने पनि भ्रम हो‚ जुन उदाङ्गिँदै गएको छ।
माओवादी, एमाले र कांग्रेसबाट वाक्क भएर फर्किएकाहरूमेत यो आन्दोलन अगाडि बढाउनुपर्ने भनेका छन्। उनीहरू राप्रपाको झण्डामुनि जाँदैनन्, दुर्गा प्रसाईंको नेतृत्वमा पनि जाँदैनन्। अब तेस्रो धारको आन्दोलन आवश्यक छ। यसको नेतृत्व संयुक्त समितिले गर्न सक्छ‚ त्यही भीडले पनि नेतृत्व जन्माउला।
राजावादीहरूलाई विदेशी शक्तिहरूको सहयोग रहेको चर्चा हुन्छ नि!
- विदेशी शक्तिको सहयोग होइन तर राजा नेपालबाट हटेकोमा र हटाउने भूमिका खेलेका अमेरिका र भारतसमेत अहिले पछुताएका भने पक्कै छन्।
यद्यपि, उनीहरूको बलमा राजा फर्किने भन्ने होइन। राजा आफैले पनि भन्नुभएको छ- नेपाली जनताको सदिक्षाअनुसार राजा हुन्छु भनेर। त्यसैले कोही कसैको कुनैखाले सहयोग छैन‚ स्वःफूर्त रुपमा जनता उठेका छन्।
आन्दोलन गर्नुपर्दा तपाईँहरूले आर्थिक स्रोत चाहिँ कहाँबाट जुटाउनुहुन्छ?
- स्वःफूर्त रुपमा आफ्नै घरको मानो खाएर सबै आउनुभएको छ‚ कसैले खर्च हालेको छैन। सभा सम्मेलन आयोजना हुँदा जसले आयोजना गरेको त्यसैले बेहोर्ने गरेको छ।
तपाईँ त हिजो गणतन्त्रवादी दलहरूबाट सरकारी नियुक्ति खाएको मान्छे, आज राजावादी बन्दा अवसरवादी बन्यो भन्दैनन्?
- म पहिला शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा साविक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्को सदस्य थिएँ। त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको कार्यकारी निर्देशक थिएँ।
त्यहाँको अवधि सकिएपछि फेरि ओलीकै प्रधानमन्त्री कालमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएँ। यतिमात्रै होइन, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो, सुदन किराँती संस्कृतिमन्त्री हुँदा पनि पशुपति हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययन समितिको संयोजक भएँ। राम्रो काम गर्यौँ।
तर म न कांग्रेस न एमाले न माओवादी भएँ। कुनै एउटा दलको भए भए त अर्को दलले मलाई गन्दैनथे। त्यसकारण म कुनै दलको बनेर होइन कि आफ्नै क्षमता र कार्यकुशलताले गर्दा सबै दलको कार्यकालमा मैले काम गरेँ। म राजनीतिक व्यक्ति होइन, सांस्कृतिक र प्राज्ञिक व्यक्ति हुँ।
तर अहिले के महसुस भयो भने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले राष्ट्रलाई धान्न सक्दैन। त्यसैले मैले आफूमा अव्यक्त रुपमा रहेको भावना अहिले व्यक्त गरेको मात्र होइन, क्रियाशील रुपमा पनि अघि बढेको हुँ।
तपाईँ आफ्नै समुदायबाट बहीष्करणमा पर्दासमेत कट्टर हिन्दुवादी भएर किन उभिनुहुन्छ?
- प्रदेश नामकरणका क्रममा गण्डकीको नाम तमुवान, मगरातलगायत राख्ने विषय उठे तर मैले साझा सहमति हुने गरी भूगोलका आधारमा राख्नुपर्छ भनेर भनेँ। त्यसपछि गण्डकी राखियो। गण्डकी नामकरणको सूत्रधार यही हो भनेर पहिचानवादीहरूले मेरो पुत्ला जलाए, सामाजिक बहिष्कार गरेका हुन्।
तर मैले रुखबाट झरेर चरा मर्दैन‚ म राजनीतिक व्यक्ति होइन मलाई भोट चाहिँदैन‚ म त राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर काम गरेको हो भनेँ।
हिन्दु धर्मको पक्षमा उभिनुको पछाडि पनि कारण छ। हिन्दु नभनौं यो त १५औं शताब्दीमा विदेशीले राखिदिएको नाम हो, वैदिक सनातन धर्म भनौँ। यसको उद्बोधन भएको ठाउँ नेपाल हो। विश्वले भन्छ- नेपाल इज सेन्टर अफ स्पिरिच्युआलिटी इन द वर्ल्ड।
तर उद्बोधन भएको थलोमै यो मासिन थाल्यो। त्यसकारण यसको संरक्षणका लागि लागि परेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।