हेटौंडा : बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्त्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको धारणा राखेका छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
सरकारमा रहेकाहरूले खेलकुदको महत्त्व बुझ्नै नसकेको उनको भनाइ थियो। प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्त्व नदिएको उनले गुनासो गरे।
‘खेलकुदलाई बजेट माग्दा अर्थमन्त्रीले आफ्नै खल्तीबाट दिनुपर्ने जस्तो गर्ने गरेका छन्’, मन्त्री महर्जनले भने, ‘यस्तै कारणले खेलाडी विदेशिन बाध्य भएका हुन्।’
युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको दावी गरे। हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रका रहेको उनले बताए।
बजेट दिने ठाउँमा भएकाहरूलाई खेलकुद बुझाउनै गाह्रो भएको उनको भनाइ थियो। यद्यपि बागमती प्रदेशका मुख्यमन्त्री भने खेलकुदप्रति ‘पोजेटिभ’ भएको महर्जनले बताए। मुख्यमन्त्री पोजेटिभ नभएको भए बागमती प्रदेशमा खेलकुदको गतिविधि नै नहुने उनको जिकिर थियो। कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले मुलुक संघीयतामा गए पनि खेलकुदमा अझै संघीयता आउन बाँकी रहेको धारणा राखे।
बागमती प्रदेशभित्रका खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै उनले यसले खेल पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। बागमती प्रदेशका पत्रकारहरूको उपस्थित रहेको कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।