काठमाडौँ : नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड लिमिटेडबीच विद्युत प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्न सम्झौता भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गरेका हुन्।
दुईदिने भ्रमणका लागि नेपाल आएका भारतीय विद्युतमन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी कामबारे सम्झौता भएको हो।
गएको माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेको थियो।
त्यही सहमतिअनुसार आज प्राधिकरण र पावर ग्रिडबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्झौता भएको हो।
समझदारीअनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ। दुवै कम्पनीमा बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ।
प्रसारण लाइनमध्ये इनरुवा–न्यु पूर्णियाको लम्बाई नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।