विद्यार्थी पढ्न नआउनुको कारण खोज्दैन सरकार : विज्ञ
विद्यार्थी पढ्न नआउनुको कारण खोज्दैन सरकार : विज्ञ
काठमाडौं : वर्षेनि ठूलो तामझामका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन हुने गरे पनि विद्यालय शिक्षामा ड्रप आउट (बीचमै विद्यालय छाड्ने) सबैभन्दा ठूलो चुनौती बनेको छ।
हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुअघि देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिन्छ। विभिन्न कार्यक्रम एवं प्याकेजसहित विद्यार्थी र अभिभावकलाई आकर्षित गरिन्छ। जसले गर्दा विद्यालय पुग्ने विद्यार्थीको संख्या बढेको देखिन्छ तर उनीहरूको अध्ययनले निरन्तरता नपाउनु भने चिन्ताको विषय बन्दै आएको छ।
विशेषगरी आधारभूत तह नै पूरा नगरी विद्यालय छाड्ने विद्यार्थीको संख्या विकराल समस्याका रूपमा देखिएको छ तर सरकार ड्रप आउटको कारण खोज्न लागि नपरेको विज्ञ बताउँछन्।
बीचमै हराउँछन् विद्यार्थी
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार वि.सं. २०७१ सालमा ११ लाख ३६ हजार ४३३ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए तर २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि फाराम भर्ने विद्यार्थीको संख्या ५ लाख ४ हजार मात्रै थियो। तीमध्ये प्रवेशपत्र लिएका ४ लाख ७५ हजारमा पनि ८ हजारभन्दा बढी परीक्षामा अनुपस्थित रहे। २०७१ सालको भर्ना संख्यालाई हेरेर कक्षा १० सम्म आइपुग्दा ६ लाख ३२ हजार ४३३ जना विद्यार्थीले बीचमै पढाइ छाडेको देखिन्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ साल कात्तिकमा विद्यालय शिक्षा क्षेत्र योजना २०७९–२०८८ सार्वजनिक गर्यो। जसमा हरेक वर्ष कक्षा १ मा भर्ना भएकामध्ये झण्डै १७ प्रतिशत विद्यार्थीले आधारभूत तह नै पूरा नगरी विद्यालय छाड्ने गरेको पाइएको उल्लेख छ। विभिन्न कक्षामा विद्यार्थीको कक्षा छाड्ने र कक्षा दोहोर्याउने कारणले हरेक वर्ष कक्षा १ मा भर्ना भएकामध्ये करिब १६.५ प्रतिशत विद्यार्थीले आधारभूत तह पूरा गर्नुपूर्व नै विद्यालय छाडेको पाइएको छ।
प्रतिवेदनले बालविकास केन्द्रमा सहभागी हुन नसकेका ४ वर्ष पुगेका बालबालिका ३१ प्रतिशत, आधारभूत तहमा भर्ना हुन नसकेका ५–१२ वर्ष उमेर समूहका ४.९ प्रतिशत देखाएको थियो। आधारभूत तहको अध्ययन पूरा गर्ने दर मात्र ७६.५ प्रतिशत रहेको देखिएको छ, जसले ड्रप आउट नियन्त्रण हुन नसकेको स्पष्ट गर्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचक २०२१।२२ मा आधारभूत तहमै विद्यालय छोड्ने दर (कक्षा १-८) ३.० प्रतिशत रहेको थियो।
तथ्यांकअनुसार आधारभूत तहबाट माध्यमिक तहमा पुग्न नसकेका विद्यार्थी/बालबालिका २४ प्रतिशत रहेका छन्। माध्यमिक तहमा कक्षा १० बाट ११ मा स्थानान्तरण हुने दरमा पनि अपेक्षित सुधार हुन नसकेको सरकारी प्रतिवेदनले देखाउँछ।
ड्रप आउटको कारण
पद्मोदय माध्यमिक विद्यालय काठमाडौंकी शिक्षिका सुजना लामिछाने ठाउँ, परिस्थितिअनुसार विद्यार्थीको ड्रप आउट दर फरक रहेको भन्दै काठमाडौंको हकमा, अभिभावकको पेशा, व्यवसायले असर गरेको बताउँछिन्।
भर्ना हुनुअघि घरमा पाएको जस्तो अनुकूल परिस्थिति विद्यालयमा नपाउनु, छात्रामैत्री वातावरण नहुनु, लैङ्गिक विभेदकारी परिस्थिति सिर्जना हुनुले पनि विशेषगरी छात्राले विद्यालय छाड्ने दर बढाइदिएको उनको धारणा छ।
‘कतिपय विद्यालयमा शौचालयको उचित व्यवस्था नहुँदा छात्राहरू महिनावारी भएका वेला स्कुल आउन हिचकिचाउने गर्छन्, यही क्रम बढेर विस्तारै स्कुल नआउने बानी बस्ने र अन्ततः उनीहरूले विद्यालय नै छाडेको देखिन्छ’‚ शिक्षिका लामिछानेले भनिन्। यद्यपि अहिले विद्यालयमा सेनिटरी प्याडको उपलब्धताले यो दर कम गर्न सहयोग पुगेको छ।
सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल विद्यार्थीले बीचमै कक्षा छाडेर जाने समस्या आफ्नो विद्यालयमा पनि रहेको सुनाउँछन्।
‘हाम्रो विद्यालयमा हेटौंडाका मात्र नभई बारा, पर्सा, रौतहटसँगै छिमेकी मुलुक भारतको विहारबाट समेत बालबालिका पढ्न आउने गरेका छन्, ती बालबालिकाका अभिभावक यहाँ काम, पेशा एवं व्यवसायको सिलसिलामा आएका हुन्छन्, राम्रो भए बस्ने नत्र आफ्ना छोराछोरीसमेत लिएर फर्कने हुँदा ती बालबालिका ड्रप आउट हुन्छन्’‚ उनले भने।
हेटौंडामै बसोवास गर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका बालबालिका अलि ठूलो हुँदै गएपछि पैसा आउने काम खोजेर लाग्ने हुँदा पनि पढाइलाई निरन्तरता दिन सक्दैनन्। ‘योसँगै चेतनाको पनि अभाव छ। पढेर पनि पैसा नै कमाउने हो भन्ने भावनाले पनि पढ्न छाडेर काममा लाग्नेहरूले ड्रप आउट गरेका छन्’‚ उनले थपे।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी अभिभावकमा चेतनाको कमी, सरकारको कम लगानी, अव्यावहारिक शिक्षा नीति विद्यार्थी ड्रप आउटको मुख्य कारण रहेको बताउँछन् ।
‘तामझामका साथ विद्यार्थी भर्ना गराइन्छ तर तिनीहरू पढ्न नआउँदा किन, के कारण आएनन् भनेर खोजी गरिएको छैन’, उनले भने‚ ‘विद्यार्थी ड्रप आउटका विभिन्न कारणमध्ये अभिभावकको चेतना पनि एउटा हो। त्यसैले अभिभावक शिक्षाको कार्यक्रम गर्न सरकारलाई हामीले भनिरहेका छौँ तर सुन्दैन।’
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले विद्यालय नआउने विद्यार्थीको खोजी गर्न नसक्नु राज्यको कमजोरी भएको बताए। ‘विद्यार्थीका लागि सरकार, अभिभावक भनेकै शिक्षक/शिक्षिका हुन् तर उनीहरू विद्यार्थीका पछि लागेनन्’‚ डा. कोइरालाले भने‚ ‘विद्यार्थीको अनुपस्थितिको कारण खोज्न विद्यार्थीको पछि लाग्ने अभ्यास नभएकाले नै गडबडी भएको हो।’
विद्यार्थीको अन्य गतिविधि, पढाइमा सम्भावित अरुचि, विद्यालयमा शिक्षक/शिक्षिकाको व्यवहारले, समय अभाव वा नभ्याएर आउन नसकेको हुनसक्ने तर यसबारे खोजी नगरिनु दुःखद भएको कोइरालाको भनाइ छ। ‘विद्यार्थीले विद्यालय नगई जहाँ बसेर पनि पढ्न सक्छन् भन्ने मान्यताको विकास गर्न पनि जरुरी छ’‚ कोइरालाले भने।
विद्यार्थी केन्द्रित सरकारका कार्यक्रम
सरकारले प्रारम्भिक बाल कक्षादेखि कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ।
यसैगरी कक्षा ६–१२ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै छात्राका लागि निःशुल्क सेनिटरी प्याड, कक्षा १–१२ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरेको छ।
कक्षा १–८ सम्म आवासीय तथा गैरआवासीय छात्रवृत्ति र कक्षा ९–१२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि विपन्न लक्षित छात्रवृत्ति, सहिदका तथा द्वन्द्वपीडित परिवारका बालबालिकाका लागि छात्रवृत्ति, कक्षा १–१२ सम्म अध्ययन गर्ने अपाङ्गता भएका बालबालिकाका लागि आवासीय तथा गैरआवासीय छात्रवृत्ति प्रदान गर्छ।
दिवा खाजाले ड्रप आउट दर घटाउन निकै मद्दत गरेको शिक्षिका लामिछानेको अनुभव छ। ‘दिवा खाजाले विद्यार्थी एकदमै खुशी छन्, उनीहरूको शारीरिक स्फूर्ति बढेको देखिन्छ, स्वास्थ्यमा पनि फाइदा गरेको छ’, उनले भनिन्‚ ‘दिवा खाजाको व्यवस्था स्कुलमै हुने गरेपछि ब्रेक टाइमपछि विद्यार्थी पढाइ छाडेर घर जाने दर पनि घटेको छ।’
दिवा खाजाले विपन्न वर्गका विद्यार्थी पढ्ने विद्यालयमा विद्यार्थीलाई ल्याउने र तिनको निरन्तरता दिने काममा मद्दत गरेको श्रमिक माविका प्रधानाध्यापक दाहालको बुझाइ छ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उच्च शिक्षामा भन्दा विद्यालय शिक्षामा जोड दिएको प्रदेश सचिव बद्रीनाथ गैह्रेले बताए।
‘सिक्दै–कमाउँदै, कमाउँदै–सिक्दै’, प्रारम्भिक बाल कक्षा एवं विकासको विस्तार एवं सुधार, पुस्तकालय सुदृढीकरण कार्यक्रम, शिक्षकको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिरहेका छौ’, उनले भने‚ ‘यसबाट विद्यालय शिक्षालाई गुणस्तरीय बनाई व्यवस्थित गर्ने र विद्यार्थीको अध्ययन निरन्तर बनाउन प्रोत्साहित गर्ने विश्वास लिएका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।