ओझेलमा उपमहासचिव शर्मा र पुन !

|

काठमाडौँ : पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को ‘कमब्याक’पछि माओवादी केन्द्रभित्रको शक्ति संघर्ष कस्तो देखिएला भन्ने चासोको विषय बनेको छ। उपराष्ट्रपति जस्तो देशकै उच्च पदमा पुगिसकेको व्यक्ति पार्टी राजनीतिमा ओर्लिन नहुने मत भिन्नताका बीच उनी माओवादी उपाध्यक्षसँगै अर्थ तथा उत्पादन विभाग प्रमुख बनेका छन्। 

तर पूर्वउपराष्ट्रपति पासाङको कमब्याक माओवादीका लागि त्यति लाभदायक सावित नहुने विश्लेषण हुन थालेका छन्। यसले माओवादीको आन्तरिक शक्ति संघर्षमा ठूलै हलचल ल्याउने विश्लेषण राजनीतिशास्त्री केशव पौड्यालको छ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई आफू दबावमुक्त हुने गरी आफ्नो उत्तराधिकारीका रूपमा पासाङलाई अघि सार्न खोजेको देखिएकाले आन्तरिक शक्ति संघर्ष चर्किने बुझाइ उनको छ।   

‘पूर्वउपराष्ट्रपतिको पार्टी राजनीतिमा फर्किएपछि माओवादीमा आन्तरिक द्वन्द्व झन् बढेर जाने सम्भावना छ। किनभने उनलाई प्रचण्डपछिको दोस्रो भूमिका दिन खोजिएको देखिन्छ। जसले प्रचण्डपछि हामी आउँछौँ भन्ने जो छन्, उनीहरू रुष्ट हुने भए’, उनले भने ‘यसबाट माओवादीलाई ठूलो क्षति पुर्‍याउन सक्छ।’ 

पूर्वउपराष्ट्रपतिको कमब्याकले राजनीतिप्रति बढ्दो वितृष्णालाई प्रश्रय दिएको बुझाइ पनि राजनीतिशास्त्री पौड्यालको छ। ‘यसले नेपाली राजनीतिप्रतिको जुन वितृष्णा छ, यसलाई थप ऊर्जा प्रदान गरेको देखिन्छ। जुन दुर्भाग्य हो। यो नेतृत्वले विचार पुर्‍याउनुपर्ने कुरा हो’, उनी थप्छन्, ‘हुनत आजीवन नेतृत्वमा रहने नेपाली राजनीतिमा यी कुरा विस्तारै पच्दै जालान् तर त्यो भुसको आगो जस्तै भएर जान्छ।’ 

राजनीतिक विश्लेषक चन्द्रकिशोर पनि पूर्वउपराष्ट्रपति पासाङ सक्रिय राजनीतिमा फर्किनुलाई अध्यक्ष प्रचण्डमाथि पार्टीमा बढाइएको दबाबको परिणाम ठान्छन्। तर उनीसमेत यसले माओवादीमा असन्तुष्टि द्वन्द्व बढाउने बताउँछन्। त्यस्ता असन्तुष्टि तत्काल नदेखिए पनि कालान्तरमा त्यो चरम अवस्थामा पुग्ने बुझाइ उनको छ। 

‘प्रचण्ड आफू पार्टीको आन्तरिक संरचनाभित्र कति असन्तुलित र असुरक्षित महसुस गरिराख्नुभएको रहेछ भन्ने यसले देखाउँछ। उहाँले एउटा खाँबो लिएर आउनुभएको देखिन्छ। नयाँ खाँबो बनाउनुभन्दा पुरानै ल्याउनुमा भएका साथीहरूप्रति अविश्वास पनि हो’, उनी भन्छन्, ‘उनी (पासाङ) आएपछि उहाँले कसै न कसैको हक त मार्नुभएको छ, जो स्वाभाविक रूपमा आकांक्षी थिए। एक त उनीहरू असन्तुष्टि हुने भए, अर्को प्रचण्डप्रतिको अविश्वास बढ्ने भयो। हुन सक्छन्, तत्काल उनीहरू आफ्नो असन्तुष्टि र असहमति नदेखाउलान् तर कालान्तरमा त्यो असन्तुष्टि चरम अवस्थामा पुग्छ।’ 

पासाङको बढ्दो सक्रियता

निरन्तर दुई कार्यकाल उपराष्ट्रपति भएर पनि पार्टीको सक्रिय राजनीतिमा ‘कमब्याक’ गरेका पासाङको पछिल्लो सक्रियता निकै बढेको छ। उनी पार्टी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सामेल हुने हरेकजसो कार्यक्रममा देखिन्छन्। 

सकिने चरणमा पुगेको माओवादीको तराई-मधेश जनजागरण अभियानका क्रममा देखिएको दृश्य रोचक छ। पूर्वउपराष्ट्रपति पासाङ अध्यक्ष प्रचण्डसँगै विभिन्न जिल्लामा पुगिरहेका छन्। हरेक दिन प्रचण्ड मर्निङ वाकमा निस्किँदा उनी पूर्वजनमुक्ति सेनालाई लिएर दुईचार कदम अघि हिँड्छन्। मञ्चमा प्रचण्डकै छेउमा बस्छन्। 

२०७२ कात्तिकमा पहिलोपटक उपराष्ट्रपति भएका पासाङ ०७४ मा दोहोरिएका थिए भने २०७९ चैतमा उपराष्ट्रपतिको दोस्रो कार्यकाल पनि पूरा गरेका थिए। त्यसको झन्डै डेढ वर्षपछि उनी पार्टी बैठकहरूमा सामेल हुँदै आएका थिए। 

पहिलो पटक गत २६ कार्तिकमा पार्टी पदाधिकारी बैठकमा सहभागी भएका थिए । त्यसपछिका निरन्तर बैठकहरूमा सामेल हुँदै आएका उनलाई चैत १८ र १९ गतेको माओवादी पदाधिकारी बैठकले उपाध्यक्ष मनोनीत गरेको थियो। त्यसपछि नयाँ वर्ष (वैशाख १ गते)बाट पासाङ पार्टीको अभियानमै देखिएका हुन्। 

ओझेलमा उपमहासचिव शर्मा र पुन

सशस्त्र द्वन्द्वका समयमा डेपुटी कमान्डरहरू पासाङसहित जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’ र चक्रपाणि खनाल डेपुटी कमान्डर थिए। यीमध्ये सबैभन्दा उच्च पद उपराष्ट्रपति हुने नन्दबहादुर पासाङ नै हुन् । अरू तीन डेपुटी कमान्डर पुन, शर्मा र खनाल मन्त्री भए। 

पार्टीको पदीय हैसियतमा पनि अहिले पासाङ हाबी भए । उनी दरिलो हैसियतको उपाध्यक्ष बन्दा शर्मा र पुन उमहासचिवमा सीमित छन्। दोस्रो पुस्ताका यी दुई प्रभावशाली नेता पार्टीको गत महाधिवेशनमा महासचिवको प्रतिस्पर्धी थिए। 

तर प्रचण्डले देव गुरुङलाई महासचिव बनाएपछि शर्मा र पुन उपमहासचिवमा सीमित हुनुपर्‍यो । त्यसपछि उनीहरूले प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाएका थिए।

अघिल्लो पटक प्रधानमन्त्री बन्दा पुनलाई अर्थमन्त्री बनाएर आफ्नो हातमा लिए पनि शर्माले भने त्यति वेला माओवादी स्थायी समिति बैठकमा नेतृत्वको कार्यशैलीको चर्को आलोचना मात्र गरेनन्, युवामा नेतृत्व हस्तान्तरण हुनुपर्ने मत राखेका थिए। 

त्यसपछि प्रचण्ड र शर्माबीच दूरी झन् बढ्यो। शर्माले उठाएका मुद्दाबारे पार्टीको सातवटै प्रदेशमा छलफलसमेत भयो तर पुस तेस्रो साता बसेको पछिल्लो स्थायी समिति बैठकसम्म आइपुग्दा उनीहरूबीच आन्तरिक सहमति बन्यो। बागमतीको इन्चार्जबाट हटाइएका शर्मालाई संगठन विभाग प्रमुखको जिम्मा दिइयो। 

उमहासचिव वर्षमान पुनलाई आर्थिक विभाग र केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ तर अहिले पूर्वउपराष्ट्रपति पासाङको सक्रियताले शर्मा र पुन दुबैलाई थप ओझेलमा पारेको छ। 

फागुन १२ मा झापाको कचनकवलबाट अभियान सुरु गर्दा अध्यक्ष प्रचण्डले उमहासचिवद्वय शर्मा र पुनलाई दायाँबायाँ लगाएका थिए। उनले अभियान सुरु गरेका दिन बिहान दुबैको काँधमा हात राखेर तस्बिरसमेत खिचाए।  

तर लुम्बिनी प्रदेशसम्म पुग्दा अभियानको अग्रमोर्चामा पूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष पासाङ देखिएका छन्। उपमहासचिवद्वय शर्मा र पुन भने खासै देखिएका छैनन्।

शर्मा आफ्नै निर्वाचन क्षेत्र रुकुम पश्चिमका विभिन्न कार्यक्रममा सक्रिय छन्। राजधानीमै भएका पुन पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष पासाङ सामेल जागरण अभियानमा पछिल्लो समय देखिएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.