|

काठमाडौँ : काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो। 

हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो। उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो। आक्रमणमा परेर रिमकला घाइते छिन्।  

मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्मासँग आज विहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिए। मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए। 

सो समन्वयपछि आजै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाईजहाजमा तथा लखनौबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो।

दिल्लीबाट लखनौँको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुईजना कर्मचारी खटाइएको छ। त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छन्।     

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो। सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन्। सो आतङ्ककारी हमलाको नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.