|

भारतले जम्मु-काश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदम सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।

भारतले सन् १९६० मा गरिएको ‘इण्डस जल सम्झौता’ तत्काल  स्थगित गर्ने निर्णय गरेको विदेशसचिव विक्रम मिस्रीले बताए। ‘जबसम्म पाकिस्तानले सीमापार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ’, उनले भने।

इण्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन(तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इण्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउँछ।

भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ।

कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इण्डस एसियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो।

यस घटनासँगै भारत-किस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.